Shittalpati
एमालेको अवरोधपछि संसद् स्थगित

पाल्पा,  लगातार बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी एमालेले सोमबार पनि संसद् अवरोध गरेको छ ।  एक क्विन्टल सुन तस्करीको छानविन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको एमालेले संसद् चल्न दिएन ।  एमालेको अवरोधपछि बैठक स्थगित गरिएको छ ।

एमालेको अवरोधसँगै सभामुख देवराज घिमिरेले आइतबारसम्मका लागि संसद् बैठक स्थगित भएको बताए । सभामुख घिमिरेले शून्य समय सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु सिटबाट उठेर नारावाजी सुरु गरेका थिए । त्यसबीचमा सभामुख घिमिरेले कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईलाई आफ्नो भनाइ राख्न समय दिएका थिए ।  शर्माले आफूलाई पक्राउ गरिएको विषय र त्यसको घटनाक्रमबारे जानकारी गराएका थिए । शर्माले आफूलाई पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको भन्दै सरकारको विरोध गरेका थिए । एमालेका सांसद मानवीर राईले पनि सरकारको विरोध गरेका थिए । सुन प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएको भन्दै राईले विरोध जनाएका थिए । केही समयको नारावाजीपछि सभामुख घिमिरेले आइतबारसम्मका लागि बैठक स्थगित गरेका थिए । 

निरन्तर अवरोधका कारण आम जनताका जल्दाबल्दा विषयमा छलफल र नियमित कार्यसूचीमा संसद् प्रवेश गर्न सकेको छैन । एमालेले साउन १० यता लगातार संसद् अवरुद्ध गर्दै आएको छ । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभाग गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । एमालेले उक्त सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिइरहेको छ । एमालेले प्रधानमन्त्री र गृहमन्त्री नै सुन तस्करीमा संलग्न रहेको आशंका आफूलाई रहेको दाबी गर्दै आएको छ । सत्तापक्षका नेताहरुले भने सुन तस्करीमा राजस्व अनुसन्धान विभाग र प्रहरीले गरिरहेको अनुसन्धानलाई प्रभावित पार्न एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरी संसद् अवरुद्ध गरिरहेको बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update