मुलुकको आर्थिक मेरुदण्डका रुपमा पर्यटन व्यवसायीलाई लिने गरिन्छ, तर हिजोआज त्यहि व्यवसायी अत्यन्त कमजोर बनेको छ । कोरोना महामारीका बेलादेखि सुस्ताएको पर्यटन व्यवसायी अहिले केही उठे जस्तो गरे पनि खासै गति लिन सकिरहेको छैन । सरकारी तवरबाट समेत पर्यटन व्यवसायीलाई माथि उकास्ने काम हुन सकेको छैन । कोभिड महामारीका साढे दुई वर्षमा पर्यटक आएनन् । त्यो स्वाभाविकै हो, तर अब पनि पर्यटक आउँदैनन् भनेर त्यसतर्फ ध्यान नदिनु आफैलाई धोका दिनु हो । होटल तथा पर्यटन क्षेत्रमा करिब २० खर्ब लगानी पुगेको छ र यो थपिने क्रममा छ, तर पर्यटक भिर्याउने खालका दीर्घकालीन योजनाहरु आउन सकेका छैनन् ।
अब सरकारले यो क्षेत्रको विकासका लागि थप कार्यक्रम ल्याउनु आवश्यक छ । निजी क्षेत्रले ठूलो जोखिम लिएर होटल पूर्वाधार तयार गर्दा बैंक तथा वित्तीय संस्थाको पनि खर्बौं लगानी परेको छ । जसमा अझै पनि महत्वपूर्ण सुधारको अवस्था नदेखिनु आफैमा विडम्बनापूर्ण अवस्था हो । विकासको आधार नै पर्यटन हो तर सरकारले अहिलेसम्म यसलाई बुझ्न सकेको छैन । पर्यटक प्रशस्त आए विदेशी मुद्राको आम्दानी त हुन्छ नै, त्यसका अतिरिक्त ठूलो मात्रामा रोजगारीका अवसर सिर्जना हुनेछन् । यस्तै स्थानीय वस्तुले बजार पाउने छन् । पर्यटकबाट हुने खर्चले धेरै होटल, लज तथा पर्यटक केन्द्रित व्यवसाय फस्टाउँछ । गाउँ–ठाउँमा पैसा आदान–प्रदान हुने हुँदा स्थानीयको आर्थिक अवस्था मजबुत हुन्छ । स्थानीयस्तरमा उत्पादित कला र सामग्रीले बजार पाउँछन् । यसरी पर्यटन व्यवसायले मुलुकको सिंगो अर्थतन्त्रमाथि सकरात्मक प्रभाव पारिरहेको हुन्छ । आयात र भुक्तान सन्तुलनका लागि आवश्यक पर्ने विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा रहेको पर्यटन व्यवसायलाई वेवास्ता गर्ने हो भने देशले ठूलो आर्थिक भार व्यहोर्नुपर्ने हुन सक्छ । पर्यटनलाई पुनर्जीवन दिनका लागि पर्यटक आगमन तथा हालको विद्यमान व्यवस्थामा तत्काल सुधार गर्नुपर्छ । बढी भन्दा बढी पर्यटकहरु भिœयाउने वातावरण सरकारले सिर्जना गरिदिनुपर्छ । यसका लागि सरकारले पर्यटनमैत्री थप कार्यक्रमहरु ल्याउन जरुरी छ ।