सरकार फेरिए पछिका नयाँ तरङ्गहरु बेला–बेलामा आउने गर्छन् । यो पटक पनि प्रचण्ड प्रधानमन्त्री भएपछि उतार चढाव भइरहेका छन् । कहिले सुनकाण्ड त कहिले जग्गाकाण्डका कारण विभिन्न खालका विविध शैलीमा राजनैतिक व्यक्तित्वहरु प्रति उनीहरुका खराब क्रियाकलापको राज्य र जनस्तरबाट भण्डाफोर हुँदै गएको अवस्था छ, अहिले । यसले गर्दा अब राजनैतिक वृतमा नयाँ र स्वच्छ छवि भएकाहरुको दिन फर्कन्छ कि भन्ने आशा पनि पलाएको अवस्था छ । मुलुकमा भएका ठूला–ठूला राजनैतिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्ने पुराना कतिपय नेताहरु पद र जिम्मेवारीको दुरुपयोग गरेर अनिमितताको पोखरीमा डुबुल्की मारेका कारण राजनीतिमा नयाँ पुस्ताहरुको वितृष्णा बढेको अवस्थामा गलत गर्नेहरुलाई कार्यवाही गर्ने काम शुरु भएपछि अब सही र गलतको पहिचान राम्रोसँग हुने भएको छ ।
पुरानादलका कतिपय नेताहरु इमानदारिताका प्रतिमूर्तिका रुपमा स्थापित भएको भएपनि कतिपयका गलत क्रियाकलाप र लाभको पदको दुरुपयोगका कारणले गर्दा सबै दल र सबै नेतालाई एउटै घानमा हालेर हेर्ने प्रचलन आफैमा गलत हो । यसले असल र खराब बीचको दुरीलाई पहिचान गर्न अत्यान्तै गाह्रो हुन्छ । त्यसकारण इमानदारलाई बेइमानको कित्तामा राख्ने खालका यदाकदा देखिएका प्रवृतिहरु पनि आफैमा नियमित छैनन् । त्यसकारण नियमितताको लागि सबै दलहरुले इमान र वेइमान राजनेताहरु बीचको फरकपनालाई पहिल्याएर मात्र जिम्मेवारी दिने प्रचलन बसाल्ने हो भने, देशले अनियमितताको पगरी गुथ्नै पर्ने अवस्था रहदैन । राजनीतिलाई कमाउनीतिका रुपमा विकसित गर्ने परिपाटीको अन्त्य, देश र जनताप्रति नेताहरु समर्पित नहुँदासम्म मुलुकले नयाँ परिवर्तनको अनुभूति गर्न सक्दैन भन्ने कुरालाई आत्मसात गरेर अगाडि बढ्नुको कुनै पनि विकल्प छैन । यो कुरालाई मनन् गरिएन भने वडो दुःखले ल्याएको लोकतन्त्रले संस्थागत नहुँदै मृत्युवरण गर्ने खतरा कायमै रहन्छ ।