Shittalpati
गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ?

पाल्पा,  यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेपछि अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर समायोजन गरेको छ । डिजेलको मूल्य प्रतिलिटर १४ रूपैयाँले बढेपछि विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढाएर मूल्य समायोजन गरेको हो । 
नयाँ भाडादर बुधबारदेखि नै लागू भएको छ । यात्रुवाहक सवारीका साधनको भाडादर ४.७०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६.१५ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६.८३ प्रतिशतले वृद्धि भएको हो । 
भाडा समायोजन भएपछि काठमाडौं–तानसेनका लागि ९ सय ६ भाडादर कायम भएको छ । यस अघि ८ सय ६५ रुपैयाँ रहेको थियो । यस्तै काठमाडौं–हार्थोक (पाल्पा)का लागि ९ सय ४८ भाडा दर कायम भएको छ । यहाँ यस अघि ९ सय ५ रुपैयाँ रहेको थियो । काठमाडौं–तम्घासको भाडादर  एक हजार दुुई  सय ३८ कायम गरिएको छ । यस अघि यो रुटमा एक हजार एक सय ८२ रहेको थियो । काठमाडौं–पोखरा–तानसेन, कपिलवस्तु– नारायणगढ एकतर्फी एक हजार ७ सय ४४ कायम भएको छ । यस अघि यस रुटमा एक हजार ६ सय ६६ रहेको थियो । यस्तै काठमाडौं–बुटवलका लागि ७ सय ६४ भाडा कायम गरिएको छ । यस अघि ७ सय ३० रहेको थियो ।
 

सुर्खेत–पाल्पा–पोखराका लागि एक हजार ५ सय ८५ भाडा दर कायम गरिएको छ । यस अघि यहाँ एक हजार ५ सय १४ रहेको थियो । नयाँ भाडादर लागू भए÷नभएको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी महाशाखाले गर्ने छन् । पेट्रोलियम पदार्थमा पाँच प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडादर समायोजन गर्ने वैज्ञानिक भाडादरसम्बन्धी कार्यविधिमा व्यवस्था छ ।
नेपाल आयल निगमले व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल÷मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । मूल्यवृद्धि सँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १ सय ७८ र मट्टितेल÷डिजेलको १ सय ६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १ सय ७३ र डिजेल÷मट्टितेल १ सय ५३ रुपैयाँ थियो ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update