गत वर्षझैं यस वर्ष पनि वर्षायामको सुरुवातसँगै सानादेखि ठूला पहिरोहरू जाने क्रम जारी छ । पछिल्लो समय हेर्ने हो भने जति पनि बाढी पहिरोका घटनाहरू भएका छन् । ती सबै सधैं जस्तै भारी वर्षालाई र भिरालो जमिनलाई मात्रै दोषारोपण गर्ने खालका देखिंदैनन् ।
देशैभरिका पछिल्लो समयको विकास निर्माण हुटहुटीलाई हेर्ने हो भने विना अध्ययन, विना मापदण्ड एवम् मनपरी ढंगले निर्माण भैरहेका सडक सञ्जालले नै झनै पहिरोलाई प्रोत्साहन गरेको जस्तो देखिन्छ । वास्तवमा भन्ने हो भने जोखिम पहिचान, पूर्वाधार विकासको शैली, बस्ती विकासको ढाँचा र प्रविधि साथै विपद् पूर्व सम्बन्धी गरिने अध्ययन र अनुसन्धानको कमि लगायतका कुराहरू पनि पछिल्लो समय क्षतिको प्रमुख कारणको रुपमा देखिन्छ । प्राकृतिक विपत् मानवीय नियन्त्रणबाहिर भए पनि त्यसले पुर्याउने क्षति न्यून गर्न भने सकिन्छ तर, नेपालमा सरकारले क्षति न्यून गर्न प्रभावकारी नीति अवलम्बन गर्न भने सकेको छैन । यसले दिगो विकासको लक्ष्यमाथि नै चुनौती थपेको छ । त्यसैले आगामी दिनमा बनाइने पूर्वाधारमा सकेसम्म कम क्षति पुगोस् भन्नेमा ध्यान दिन ढिला भइसकेको छ ।
बाढीपहिरोबाट खानेपानी आयोजना, सडक तथा पुल र जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । यस्तो क्षति वर्षेनि हुने गरे पनि पूर्वाधार निर्माणमा आवश्यक सतर्कता अपनाउन सकिएको छैन । पहाडमा जथाभावी खनिएका सडक अहिले धराप जस्तै बनेका छन् । डोजरे विकासको नामले चिनिएका सडकहरूबारे पर्याप्त अध्ययन भएको पाइँदैन । खासगरी त्यसले वातावरणीय क्षति कति पु¥याउँछ भन्ने कुनै अध्ययन छैन् । भौगोलिक बनोट पनि अध्ययन भएको छैन । त्यसैले अहिले पहाडी क्षेत्रमा पहिरोको समस्या बढी देखिइरहेको छ । यसर्थ भौतिक पूर्वधारहरु निर्माण गर्दा सम्भावित प्रकोपबाट प्रभावित नहुने गरी बनाइन जरुरी छ ।