आज भोलि चौपारी, पाटी, पौवामा बसेर दुःख–सुःख का विषयमा साथीहरुबिच जमघट र छलफल, परिवारका सदस्यहरु बिच एकै ठाउँ बसेर पारिवारीक छलफल हुन छाडिसक्यो । व्यक्ति–व्यक्तिबिचको आत्मियता पनि क्रमशः हराउँदै गएको अनुभुति गर्न सकिन्छ । अच्चम लाग्यो होला यी भनाईहरु सुन्दा । अच्चम मान्नुपर्ने कुनै कारण पनि देखिदैन् । हो आजभोली हाम्रो परिवार र समाज यस्तै प्रवृत्तिलाई प्रोत्साहन गरि रहेको देखिन्छ । पछिल्लो समय विकासको नयाँ प्रविधिले गाउँ शहर जताततै जनताको हात हातमा मोबाईल पु¥यायो । कसैले त आफ्नै मिहिनेतले त कसैले ऋण नै खोजेर सरकारको हात–हातमा मोबाईल भन्ने नारालाई मुर्तरुप दिन सफल भएको देखिन्छ तर यसको प्रयोगले हामीलाई यति आधुनिकतातर्फ लान थाल्यो की कतै हामी हाम्रा धर्म, संस्कृति, संस्कार, रितीथिती, परम्परा सबै बिर्सेर यसैमा रमाउन थालेका त होइनौ ? प्रश्नहरु उठन थालेको देखिन्छ । यहाँ यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
सञ्चारको महत्वपूर्ण साधनको रुपमा विकास भएको मोबाईल र इन्टरनेटको तिब्र विस्तारका कारण हाम्रा हरेक क्रियाकलापलाई सहज र सरल बनाएको पाइन्छ । यसैको सहि प्रयोगका कारण घरैमा रोजगारी सिर्जना भएको, व्यापार व्यवसाय पनि सफलता पूर्वक सञ्चालन गर्न सहयोग पुगेको, क्षण भरमा नै देश विदेशका खबरहरु थाहा पाउन सकेको, समय र परिवेश अनुसार आफ्नो दैनिकीमा परिवर्तन ल्याउन सहयोग पुगेको देखिन्छ । विश्व नै एउटा औलामा भन्ने पक्षलाई आज भोलि मोबाइल र इन्टरनेटले यथार्थ सावित गराएको देखिन्छ । यसैको विकास र प्रयोगले शहरी क्षेत्रमा बस्ने नागरिकलाई मात्रै होईन दुर्गम ग्रामीण क्षेत्रमा बस्ने जनताको दैनिकीलाई पनि सरल र सहज बनाएको देखिन्छ । यसको सहि प्रयोगले बेफाईदा भन्दा बढी फाईदा नै हुने देखिन्छ तर आज भोली कतै हामी, हाम्रो परिवार र समाज यसको प्रयोग भन्दा पनि दुरुपयोग बढी मात्रामा गरेको त होइन शंखा भने उत्पन्न गराएको छ । दिनभर मात्रै कहाँ हो र रातभर टिकटक, फेसबुक लाईभमा समय बिताईरहेका छौं । भाईरल हुने, लाईक र कमेन्टको आशमा जस्तो हर्कत गर्न पनि पछि परेका छैनौ । यस्ता क्रियाकलापले हाम्रो परिवार र समाजको भविष्य कता जाने त्यसको त कुरै छोडौ आफ्नै शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि असर परिरहेको छ त्यसको कुनै ख्याल गर्ने फुर्सत नै छैन आज भोलि हामीलाई ।
हिजो यस विषयमा धेरै जानकार नहुँदा होटलमा फ्रि वाईफाई लेखेको देखेर एक पिलेट फ्रि वाईफाई खाउन भन्ने हामी आज सबै कुरा छोडेर इन्टरनेट र मोबाइलको अत्याधिक प्रयोगमा नै रमाउन थालेका छौं । बालबालीका, युवा युवती देखि लिएर जेष्ठ नागरिक सबै उमेर समूह यसैमा झुमिन र रमाउन थालिसकेका छौ । प्रयोग मात्रै कहाँ हो र ? यसैको प्रयोगबाट अनेकौ विकृति बिसंगतीहरु बढ्दै गएको देखिन्छ । अनेकौ घटनाहरु सुन्न र देख्न नेपाली समाज बाध्य भएको छ र यसैको अभ्यासमा रुमलिएको पनि देखिन्छ र भन्न मन लाग्छ यस्तै प्रवृित्त बढ्दै जाने हो भने हाम्रो समाज कता जाने होला ? इष्टमित्र नातागोता घरमा पाहुनाको रुपमा आउँदा भोक तीर्खा, सञ्चो बिसञ्चो सोध्न हैन वाईफाईको पासवर्ड सोध्नमा, सुख–दुख आदन–प्रदानमा हैन वाईफाईको पासबर्ड आदन–प्रदानमा तम्सिएका हुन्छौ । मिठा गफगाफमा हैन आ–आफ्नै तालमा मोवाईलमा नै रमाउन थालेका छौं । चाडपर्व, विवाह, भोज भतेरको रमाईलो र रौनकतालाई मोबाईलले खुम्च्याईदिएको छ । परिवारको सदस्यको सफलता असफलता, घरमा के परिकार पाक्यो सामाजिक सञ्जाल हेरेर थाहा पाउनु पर्ने अवस्था आएको देखिन्छ । गोप्यता के ? संवेदनशीलता के ? सदभाव के ? भाईचारा के ? यी सबै पक्ष लगभग हामीबिचबाट हराई सकेको देखिन्छ । पिडा के हो ? खुसी के हो ? यसको अर्थ नै बुझ्न छाडिसकेका छौं । मोबाइल र इन्टरनेटका कारण मस्त निन्द्रामा परे जस्तो देखिन्छौ हामी । आज भोली हामी आकस्मिक दुर्घटनामा परेका घाईते वा पिडितको उद्वार र सहयोगमा, प्रहरीलाई जानकारी दिन, एम्बुलेन्स बोलाउन तत्परता देखाउँदैनौ देखाउछौ त भिडियो, सेल्फी र फोटा खिच्न र त्यसलाई कसले सबै भन्दा पहिला सामाजिक सञ्जालमा राख्ने अनि कसरी भाईरल हुने त्यही कुरामा आतुर भइरहन्छौ । यसबाट हिजो अन्यलाई सहयोग, सदभाव, दया, माया राख्न आतुर हाम्रो परम्परा, हाम्रो कमलो मन कठोर हुँदै क्षणीकतामा रमाउन थालेको सजिलै अनुमान लगाउन सकिन्छ । आफ्नो गाउँ घरका विकास निमार्णका कुराहरु, राम्रा–राम्रा योजनाहरु गाउँ घरमा देखिदैन देखिन्छ त सामाजिक सञ्जालमा, त्यति मात्रै कहाँ हो र ? नेतृत्वको मिठा–मिठा आसवासन र भाषण, हुँदै नभएका विकासका कुरा पनि सामाजिक सञ्जालमा नै हेर्न सुन्न पाइन्छ । नेतृत्वको आरोप–प्रत्यारोपका चर्का भाषणहरु सुन्न घर बाहिर पुग्नु पर्दैन आज भोली मात्रै खोले पुग्छ मोवाईल अनि सामाजिक सञ्जाल । जे पनि लेख्न, जे पनि बोल्न छुट छ सञ्जालमा ,दिनभरको रिस पोख्न पाइन्छ मोबाईलमा तर यसको नियन्त्रणको तत्काल कुनै प्रभावकारी बिधि नभएकाले यसले हाम्रो समाजलाई कता तिर पुर्याउने हो चिन्ताको विषय बनाएको छ ।
समय अनुसार हामीले हाम्रो समाजलाई रुपान्तरण गर्दै लानु आजको आवश्यकता पनि हो तर रुपान्तरणको नाममा देखिने बिसंगती र विकृत्तिले हाम्रो समाजलाई, हाम्रो जीवन शैलीलाई अप्ठयारो मोडमा पु¥याउन सक्ने भएकाले यसमा सजगता अपनाउनु जरुरी भने देखिन्छ । विकास भएका प्रविधिको प्रयोग गर्नु हाम्रो अधिकार पनि हो । प्रयोग गर्न पाउनु पनि पर्दछ । व्यक्तिदेखि समाज, देशदेखि विदेशका सबैं खाले समाचार, घटना थाहा पाउने एउटै आधार पनि हो मोबाईल अनि सामाजिक सञ्जाल, युट्युव, टिकटक, तर यसको प्रयोग र सञ्चालनमा व्यक्ति स्वयम नै सजग र सचेत हुनु पर्ने देखिन्छ भने राज्यले पनि यसलाई व्यवस्थित बनाउन आवश्यक मापदण्ड बनाउन आवश्यक देखिन्छ । मोबाइल र यसको प्रयोगबाट बढ्दै गएको सामाजिक विकृत्ति र बिसंग्तीमा भने आवश्यक नियन्त्रण गरी अगाडि बढ्नु पर्ने देखिन्छ । यसका लागि व्यक्ति, परिवार, समाज लगायत राज्यका निकायहरु आ–आफ्नो ठाँउबाट लाग्ने की ?
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)