Shittalpati
अझै केही दिन वर्षाको सम्भावना

पाल्पा, अझै केही दिन वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी प्रदेशको तराई र मधेस प्रदेश बाहेक अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । यस्तै लुम्बिनी प्रदेशमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । रातिको समयमा पनि कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

शुक्रबार देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । शनिबार पनि देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update