Shittalpati
बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर

पाल्पा, वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । उनीहरुले भदौ महिनाको लागि नयाँ व्याजदर सार्वजनिक गरेका हुन् । अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको घटेको छ । केही बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

भदौका लागि व्यक्तिगत मुद्दतीमा कुनै पनि बैंकको ब्याजदर १०.८९६ प्रतिशतभन्दा बढी छैन । व्यक्तिगत मुद्दतीमा भन्दा रेमिट्यान्स मुद्दती खातामा अधिकतम १ प्रतिशत बिन्दु बढी ब्याज दिन सक्ने प्रावधान अनुसार त्यस्तो खातामा अधिकतम ११.८९६ प्रतिशतसम्म ब्याजदर बैंकहरुले प्रदान गर्नेछन् । त्यस्तै संस्थागत मुद्दतीमा व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दु कम दिनुपर्ने व्यवस्थाअनुसार संस्थागत मुद्दतीमा अधिकतम ८.८९६ प्रतिशतसम्म बैंकहरुले ब्याजदर प्रदान गर्नेछन् । कृषि विकास, नेपाल, सानिमा, कुमारी, ग्लोबल आईएमई, एनआईसी एसिया र सिटिजन्स बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै अधिकतम १०.८९६ प्रतिशतसम्मको ब्याजदर प्रकाशन गरेका छन् । ३ महिनाभन्दा बढी अवधिको लागि यी बैंकले अधिकतम १०.८९६ प्रतिशतसम्म ब्याजदर दिनेछन् । एभरेस्ट र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम १० प्रतिशत ब्याजदर दिनेगरी सूचना सार्वजनिक गरेका छन् । राष्टिूय वाणिज्य, माछापुच्छ्रे, सिद्धार्थ, हिमालयन, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ९.९९ प्रतिशतसम्म ब्याजदर दिनेछन् । लक्ष्मी सनराइजले १०.४० तथा नबिलले (अवधि २ वर्षमाथि) १०.४९ प्रतिशतसम्म यस्तो ब्याजदर दिनेछन् । स्टान्डर्ड चार्टडको ब्याजदर भने सबैभन्दा कम ८.९२ (अवधि १ वर्षमाथि) यस्तो ब्याजदर सार्वजनिक गरेको छ ।

अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाउने व्यवस्था छ । सोहीअनुसार वाणिज्य बैंकहरुले भदौका लागि नयाँ ब्याजदर निर्धारण गरेको हुन् । उनीहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक–फरक ब्याजदर निर्धारण गर्दै आएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update