Shittalpati
श्रमिकको न्यूनतम ज्याला बढ्यो

पाल्पा, सरकारले चालुु आर्थिक वर्षको साउन १ देखि नै लागू हुने गरी श्रमिकको न्यूनतम तलब मासिक १७ हजार ३ सय कायम गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै श्रमिकको तलब वृद्धि गरेको हो ।

राजपत्र अनुसार अब श्रमिकको मासिक आधारभूत पारिश्रमिक १० हजार ८ सय २०, महँगी भत्ता ६ हजार ४ सय ८०  गरी १७ हजार तीन सय रुपैयाँ पु¥याइएको छ । यो आन्तरिक श्रम बजारमा कार्यरत चिया बगानबाहेकका नेपाली श्रमिकको भत्तासहितको पारिश्रमिक हो । सरकारले अघिल्लो पारिश्रमिकको तुलनामा २ हजार ३ सय अर्थात् १५.३३ प्रतिशतले वृद्धि गरेको हो । २०७८ साउन १ देखि लागु भएको श्रमिकको मासिक  ज्याला १५ हजार रुपैयाँ थियो । यसमा आधारभूत पारिश्रमिक ९ हजार ३ सय ८५  र महँगी भत्ता ५ हजार ६ सय १५ थियो । 

रोजगारदाता र ट्रेड युनियनसँगको  छलफल पछि सरकारले पारिश्रमिक निर्धारण गरेको हो । दैनिक ज्यालादारी श्रमिकका लागि भने दैनिक ६ सय ६८ रुपैयाँ तोकिएको छ । यसमा आधारभूत ४ सय १८ र महँगी भत्ता २ सय ५० रहेको छ । आंशिक समय मात्र काम गर्ने श्रमिकको प्रतिघण्टा न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ तोकिएको छ ।

चिया बगानका श्रमिकको हकमा भने मासिक १३ हजार ८ सय ९३ रुपैयाँ पारिश्रमिक पु¥याइएको छ । यसमा आधारभूत पारिश्रमिक ८ हजार ९ सय ३४ र महँगी भत्ता ४ हजार ९ सय ५९ छ ।

चिया बगानको दैनिक ज्याला ३ सय २३ रुपैयाँ आधारभूत पारिश्रमिकसहित ५ सय पुर्याइएको छ । चिया बगानमा प्रतिघण्टा ज्याला भने ६६ रुपैयाँ तोकिएको छ । चिया प्रशोधन र कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको दैनिक भत्ता भने ६३ रुपैयाँ निर्धारण गरिएको छ । यसका अतिरिक्त रोजगारदाताले श्रमिकलाई कानुन अनुसारका अन्य सेवा–सुविधासमेत दिनुपर्ने हुन्छ । तोकिएको पारिश्रमिकका अतिरिक्त श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, श्रम सम्झौता÷नियुक्तिपत्र, श्रमिकले पाउने सञ्चय कोष, उपदानलगायत सुविधा अनिवार्य लागू गर्नुपर्ने श्रम मन्त्रालयले जनाएको छ । रोजगारदाताले नयाँ तलबमान अनुसार सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्नेछ ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update