Shittalpati
इन्भेष्टमेन्ट मेगा बैंकले दिने भयो विद्युतीय स्कुटरमा सहुलियत कर्जा

पाल्पा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ले विद्युतीय स्कुटर खरिदमा सहुुलियत कर्जा दिने भएको छ । बैंकले चारपाङ्ग विद्युतीय सवारीसाधनलाई उपलब्ध गराउँदै आएको सहुलियत पूर्ण कर्जा विद्युतीय स्कुटरलाई पनि उपलब्ध गराउने भएको हो ।

यसका लागि बैंक र इको इन्फिनिटी प्रालीबीच द्विपक्षीय सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. मौसम बोहराले हस्ताक्षर गरे । सो सम्झौताअनुसार अब बैंकले ‘अटो लोन’ अन्तर्गत सो कम्पनीद्वारा आयातित ‘न्यू इलेक्ट्रिक’ स्कुटर खरिद गर्दा ८० प्रतिशतसम्म किस्तामा ‘लोन’ प्रवाह गर्नेछ । यस्तो लोन स्कुटरको ‘वारेन्टी’का आधारमा चार वर्षसम्म हुने जनाइएको छ । नेपालमा इको इन्फिनिटीले ‘एनआइयू (न्यू) इलेक्ट्रिक’ नामक विद्युतीय स्कुटर पहिलो पटक सन् २०१७ मा भित्र्याएको थियो । पछिल्लो समय विद्युतीय स्कुटरप्रति आकर्षण बढ्दै गएको छ । विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज (गति) उच्च, गुणस्तरीय एवं विश्वासनीय उत्पादक कम्पनीका स्कुटर तथा बैंकिङ क्षेत्रले लगानी गर्न थालेसँगै युवापुस्ता लागि यस्ता स्कुटर रोजाइमा पर्न थालेका हुन् । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई कम गर्दै विद्युतीय सवारीसाधन प्रयोग बढाउँदै तथा प्रवद्र्धन गर्दै जाने सरकारको नीतिसमेत रहेको छ । 

एक दशक अघिको तुलनामा सडकमा अहिले थुप्रै विद्युतीय दुई पांग्रे र चार पांग्रे गुडिरहेका छन् । दैनिक प्रयोगको लागि अझ विशेष विद्युतीय स्कुटरप्रति मानिसहरू आकर्षण बढ्दो रहेको व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update