Shittalpati
१२ कक्षाको नतिजाले दिएको सन्देश

मंगलबार कक्षा १२ को परीक्षाफल प्रकाशित भएको थियो । वैशाख २६ गतेबाट जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा झण्डै तीन महिनापछि आएको छ । परीक्षामा नियमिततर्फ झण्डै ३ लाख ७३ हजार र आंशिकतर्फ करिब ६१ हजार विद्यार्थीहरुको सहभागिता रहेको थियो । ग्रेडवृद्धितर्फ भने १४ हजार बढीको सहभागिता रह्यो । नतिजामा गत वर्षको तुलनामा सामान्य सुधार देखिए पनि सन्तोषजनक भने छैन । यस वर्ष उच्च शिक्षा अध्ययनका लागि केवल नियमिततर्फ झण्डै १ लाख ९० हजार, त्यसरी नै आंशिकतर्फ १८ हजार बढीसँगै ग्रेडवृद्धितर्फ ६ हजार बढीले माथिल्लो शिक्षा पढ्न पाउने अवसर प्राप्त गरेका छन् । उच्च शिक्षाका लागि योग्य रहेका परीक्षार्थीको प्रतिशत हेर्दा ५०.९१ देखिँदा परीक्षा दिएका आधाजसो विद्यार्थी भने अनुत्तीर्ण भएका छन् ।

यति धेरै विद्यार्थी उच्च शिक्षाका लागि अयोग्य हुनुमा विद्यार्थी स्वयंको मात्र कमजोरी पक्कै छैन । यस नतिजाले शिक्षक, विद्यालय, सरकारका साथै समग्र शिक्षा प्रणालीकै कमजोरी हो भन्ने कुराको संकेत गर्दछ । सुधार भएको भनेर भन्न मिल्ने स्थिति त्यतिखेर मात्र बन्न सक्थ्यो जतिखेर गत वर्षको भन्दा धेरै प्रतिशत विद्यार्थीले परीक्षामा सफलता पाउँथे । यस्तो केवल सुधार उन्मुखमात्रै देखिएको नतिजाले धेरै विद्यार्थीको उच्च शिक्षा पढ्ने अभिलाषालाई पूर्ति गर्न सक्दैन । परीक्षा दिएर पनि अनुत्तीर्ण रहेकाहरुको संख्यालाई हेर्दा सानो मान्न सकिँदैन । विद्यार्थीको ठूलो हिस्सा असफल देखिँदा उच्च शिक्षामा धेरै विद्यार्थीहरुको पहुँच नपुग्ने अवस्था सिर्जना भएको छ । यो अत्यन्त दुखको कुरा हो । नतिजा सुुधार नहुँदा एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति पनि छ। कसैले कक्षाकोठाको सिकाइ शैलीलाई दोष दिन्छन्, कोहीले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा समस्या औंल्याउँछन् । समस्या कहीँ न कहीँ पक्कै छ, सबैतिर पनि हुन सक्छ, तर गम्भीर भएर समस्या पहिल्याउन र समाधान गर्न कसैले अग्रसरता लिएको देखिदैन । जसका कारण धेरै विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । नतिजा सुधारका लागि सबैभन्दा महत्वपूर्ण पक्ष विद्यार्थीलाई पढाइमा आकर्षित गराई गुणस्तरी शिक्षा प्रदान गर्न सक्नु हो । त्यसमा शिक्षकको विषयविज्ञता, पढाउने शैली र भौतिक पूर्वाधार महत्वपूूर्ण मानिन्छ । यसर्थ विद्यार्थीलाई पढ्ने व्यवस्था गरेर मात्र पुग्दैन, गुणस्तरीय शिक्षा दिन सक्नुपर्छ, जसका लागि शिक्षक, विद्यालय, सरकार सबै गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update