Shittalpati
बुटवल मिडिया सम्मेलन : १३ बुँदे घोषणापत्र जारी गर्दै सकियो

बुटवल, लुुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरिएको प्रादेशिक मिडिया सम्मेलन १३ बुुँदे घोषणपत्र जारी गर्दै सकिएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा शुक्रबारदेखि सञ्चालन भएको सम्मेलनले शनिबार लुम्बिनी केबलकारको टपस्टेशन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरबाट १३ बुँदे वसन्तपुर घोषणापत्र–२०८० जारी गरेको हो ।

जहाँ समानुपातिक विज्ञापन वितरण प्रणालीलाई नीतिगतरुपमा व्यवस्था गरी कार्यान्वयन गर्न माग गरिएको छ । सम्मेलनले सञ्चारगृहमा हाल देखिएको आर्थिक संकट समाधानका लागि तीनै तहका सरकारले मिडिया सवलीकरणका कार्यक्रम सञ्चालन गर्न पनि माग गरेको छ । घोषणापत्रमा तीनै तहका सरकारले प्रदान गर्ने विज्ञापनको समानुपातिक वितरण प्रणालीका आधारमा रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइनलाई दिइने विज्ञापन सिधै सञ्चारगृहलाई उपलब्ध गराउने व्यवस्था मिलाउन समेत माग गरिएको छ । यस्तै घोषणापत्रमा सरकारले लिँदै आएको विद्युतीय सञ्चारमाध्यमको नवीकरण दस्तुर तथा रोयल्टी दस्तुर पूर्ण छुटको व्यवस्था गर्न र रेडियो, टेलिभिजन, अनलाइन, छापामाध्यम तथा सञ्चार उद्योगको विद्युत् महशुलमा छुटको व्यवस्था अविलम्ब सुरु गर्न माग गरिएको छ । सरकारले सञ्चार गृहलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनको रकम शतप्रतिशत वृद्धि गर्न, रेडियो र टेलिभिजनको लाइसेन्स नवीकरण व्यवस्थालाई सरल र सहज बनाउन, दर्ताविना कतिपय मिडिया सञ्चालन भएकाले यसको अनुगमन गरी दर्ता प्रक्रिया र कानुनी दायरामा ल्याउन, संघीय शासन पद्धतिको मर्मलाई समेत ध्यानमा राखेर प्रेस पास वितरण, लोककल्याणकारी विज्ञापनसम्बन्धी निर्णय, भुक्तानी, वर्गीकरण र अनुगमन जिल्लास्तरमै हुनेगरी संयन्त्र तयार गर्न घोषणापत्रमा उल्लेख छ ।

सम्मेलनले प्रेस काउन्सिल नेपालले मिडिया विकास कोषमार्फत प्रादेशिक र स्थानीय मिडियाको विकासमा लगानी गर्न, मिडिया उपकरण खरिदमा ब्याज अनुदान दिने व्यवस्थालाई अझ प्रभावकारी बनाएर मोफसलका मिडियालाई विशेष प्राथमिकताका साथ सहयोग गर्न अनुरोध गरिएको छ । सम्मेलनले लुम्बिनी प्रदेशका सञ्चार गृहको वास्तविक अवस्था र समस्या पहिचान गर्न सहयोग पुगेको संघका अध्यक्ष नवराज कुँवरले बताए । ‘कोभिडको महामारीपछि नै मिडिया क्षेत्र आर्थिक संकटमा पर्दै गएको छ, पत्रकार बेरोजगार बन्ने अवस्था बढ्दो छ,’ उनले भने, ‘त्यसबाट अब मिडिया हाउसलाई कसरी सबलीकरण गर्न सकिन्छ र तीन तहका सरकारको भूमिका के हुन्छ भन्ने विषयमा सम्मेलनले ठोस निश्कर्ष निकाल्दै घोषणापत्र जारी गरेको छ ।’ सम्मेलनमा प्रदेशको विकासमा यस क्षेत्रका मिडियाहरुको भूमिका र उनीहरुको अवस्थाका विषयमा व्यापक छलफल भएको थियो । सम्मेलनमा सञ्चार माध्यमले खेल्दै आएको भूमिका, उनीहरुको संस्थागत विकासका साथै रोजगारी र पेशागत सुरक्षाका विषयमा समेत बहस र छलफल भएको थियो । कार्यक्रममा १ सय २५ जना सञ्चालक तथा प्रकाशकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update