Shittalpati
परिवार नियोजन संघले मनायो विश्व मानवता दिवस

पाल्पा, जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले  विश्व मानवता दिवस  मनाइएको छ ।  संघले शनिबार अन्तक्र्रियासँगै मानव सेवामा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान गर्दै दिवस मनाएको हो ।

संघले जिल्लाको मानवीय सेवामा निरन्तर योगदान पुर्‍याउदै आएका तीन जना व्यक्तिहरुलाई सम्मान गरेको छ । उसले रेडक्रस पाल्पाका निवर्तमान सभापति बुद्धिप्रसाद शर्मा, युनाइटेड मिसन अस्पतालकी निर्देशक रचेल कारख र शसस्त्र प्रहरी निरीक्षक उमेश ढकाललाई सम्मान गरेका हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मानविय सेवामा लागेका व्यक्तिहरुलाई सम्मान गरेर संघले प्रशसंनिय कार्य गरेको बताए । उनले पछिल्लो समयमा मानविय सेवाको औचित्य बढ्दै गएको बेला यस्ता सम्मान र कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  उनले मानविय अतिक्रमणका कारण विपद्का घटनाहरु बढ्दै गएको बताए । विपद्का घटनाहरुबाट सबै सचेत हुनुपर्ने भन्दै बास्तोलाले यति त्यस्ता घटनाहरु घटी हालेमा सबैले उद्दारमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले परिवार नियोजन संघले बाउन्ट्री तोडेर मानविय सेवामा समेत समर्पित भएको बताए । उनले संघले आफ्नो क्षेत्रअधिकार मात्र नभई मानविय सेवालाई पनि आत्मसाथ गर्ने गरेको भारणा व्यक्त गरे । कार्यक्रममा रेडक्रस पाल्पाका सभापति बाबुराम कार्कीले पछिल्लो समय मानवीय सेवा हराउँदै गएको बेला यस्ता छलफल र अन्तक्र्रिया कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । सम्मानित व्यक्तित्वहरु बुद्धि प्रसाद शर्मा, डा. रचेल कारख, उमेश ढकालले संघले आफुहरुले गरेको कामको मूल्यांकन गरेर सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । संघका कोषाध्यक्ष माधव अर्यालले मानविय सेवा हराउँदै गएका बेला मानवसेवा गर्ने भावना सबैमा जागृत होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

संघका प्रवन्धक सोवाकान्त न्यौपानेलेले कार्यक्रममाथि प्रकाश पारेका थिए ।  उनले यो दिवस हरेक वर्षको अगष्ट १९ तारिखमा मनाउने गरिएको बताए । संघका अध्यक्ष सुशिलराज शाक्यको अध्यक्षता, सदस्य कमल बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । यस वर्षको नारा ‘जे भए पनि सँगै’ अर्थात् जस्तोसुकै परिस्थितिमा पनि मानव अधिकारका लागि सबै समुदायसँग काँधमा काँध मिलाएर काम गर्ने भन्ने रहेको थियो । संयुक्त राष्ट्रसंघअन्तर्गत नेपाल रहेका विभिन्न निकाय तथा अन्य गैरसरकारी संघसंस्थाले मानवीय सहयोगी क्षेत्रमा जस्तोसुकै परिस्थितिमा पनि काम गर्ने प्रणसहित दिवस मनाएका छन् । 

सन् २००३ को अगष्ट १९ मा इराकको बगदादस्थित संयुक्त राष्ट्रसङ्घमा भएको आक्रमणमा परी राष्ट्रसंघका २२ कर्मचारीको मृत्यु भएको थियो । सोही दिनको स्मरण गर्दै विश्वभर मानवता सहायताका लागि काम गर्दै आएकालाई प्ररेणा मिलोस् भन्ने उद्दश्यले राष्ट्रसंघले यो दिवस मनाउन सुरु गरेको हो ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update