Shittalpati
‘सिकेको सिपलाई व्यवहारमा उतारौं, रोजगारी आफै प्राप्त हुन्छ’

रामचन्द्र रायमाझी
पाल्पा,
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् । शनिबार शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालि तथा कस्मोपोलिटन कन्सल्टेण्ट एण्ड टेक्निकल एजुकेशन प्रालि पाल्पाले आयोजना गरेको विभिन्न सीपमूलक कार्यक्रमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै उनले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका हुन् ।

पूर्वमन्त्री समेत रहेका रानाले सिप सिकेर मात्र नहुँने भन्दै सिपलाई व्यवहारमा उतार्न सके रोजगारी आफै प्राप्त हुने बताए । उनले भने ‘अहिले धेरै युवाहरु रोजगारीका लागि भौतरी रहनुभएको छ, सिप नहुँदा र भएको सिप समेत व्यवहारमा प्रयोग नगर्दा रोजगारीका लागि भैतरिनुपरेको छ, अब त्यसरी हुँदै केही न केही सिप सिक्नैपर्छ र सिकेका कुराहरुलाई व्यवहारमा उतार्नै पर्छ ।’ स्वदेशमै होस् वा विदेशमा रोजगारीका लागि सिप अपरिहार्य रहेको रानाको भनाई छ । उनले भने ‘धेरै युवाहरु बाध्य भएर देश छोड्नु परेको छ । यस्तो अवस्थामा हामीले सिप सहितको रोजगार भनेका छौं, जसले गर्दा उचित किसिमको सेवा सुविधा पाउन सक्छौं ।’ सांसद रानाले सकेसम्म वैदेशिक रोजगारमा जानै नपर्ने गरी सिप सिकेर आफ्नै ठाउँमा स्वरोजगार बन्न तथा जानै पर्ने परिस्थितिमा सिप सिकेर मात्र जानु पर्नेमा जोड दिए ।  

उनले जुन क्षेत्रको सिप र ज्ञान प्राप्त गरिएको छ, त्यसमा अझ सशक्त र इमान्दारीताका साथ व्यवहारमा उतार्न जरुरी रहेको धारणा व्यक्त गरे । सांसद रानाले सरकारले सिपका थु्रपै इभेन्टहरु सञ्चालन गरे पनि त्यसतर्फ चासो नदिने गरेको बताए । उनले भने ‘ हामीले विगतका दिनहरुमा देख्ने गरेका छौं, राज्यले यस्ता थुप्रै इभेन्टहरु सञ्चालन गरेको छ, तर हामीले चासो नराख्ने, यसो  एकछिन सिके जस्तो गर्ने तर यसलाई सहि ढंगले चासो नदिने, जुन किसिमको परिपाटी हामीमा पनि रहेको छ ।’ सिप सिक्ने कुरामा दत्तचित्त भई आफुहरुलाई अनुशासित ढंगले अगाडि बढाउन सके सहज जीवन यापन गर्न ठूलो भूमिका खेल्ने सांसद रानाले विश्वास व्यक्त गरे । उनले राज्यले सबै कुरा दिन नसक्ने तर लगानी र रोजगारको वातावरण भने सिर्जना गरिदिने बताए । सांसद् रानाले भने ‘स्वाभाविक रुपमा राज्य छ, तर राज्यले सबै कुरा दिन सक्दैन्, राज्यले रोजगारी , लगानी र सिप सिक्ने वातावरण बनाउने हो, हामी आफै पनि त्यस्ता अवसरहरु कहाँ छन्, खोजी नीति गर्न जरुरी छ ।’ कार्यक्रममा तानसेन नगरपालिकाकी शिक्षा शाखा प्रमुख तथा इभेन्ट परियोजनाकी अनुगमन अधिकृत कपिला न्यौपानेले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न तालिममा सहभागीहरुलाई आग्रह गरिन् ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले लेप्रमाणपत्र पाउने मात्र नभई नयाँ सोंचका साथ अगाडि बढ्ने बाटो खुला भएको बताए । उनले प्रमाणपत्रको सही सदुपयोगका लागि व्यवसाय सञ्चालन गर्न र स्वरोजगार बन्ने दिशामा लाग्न आग्रह गरे । अध्यक्ष भट्टराईले भने ‘तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुहोस्, त्यसका लागि निजी क्षेत्रका उद्योगी व्यवसायी र होटल व्यवसायीहरुसँग भएको ज्ञान, अनुभव लिएर उनीहरुसँग सहकार्य गर्न सकिन्छ ।’ कार्यक्रममा वडा सदस्य सुनिता श्रेष्ठ, नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाका सभापति निलकण्ठ देवकोटा, पाल्पा व्यापार संघका सचिव बाकृष्ण भण्डारी, होटल तथा रेष्टुरेण्ड व्यवसायी संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्याल, पत्रकार रामचन्द्र रायमाझी लगायतले व्यवसायिक बन्न तालिममा सहभागीहरुलाई आग्रह गरे । उनीहरुले सके  व्यवसायिक बन्न, नसके स्वरोजगार बन्ने दिशामा लाग्नुपर्नेमा जोड दिए । शिव इन्ष्टिच्यूटका प्रवन्धक नारायण भट्टराईले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले हरेक वर्ष सिटीभिटी र स्थानीय सरकारको सहयोगमा सीपमूलक तालिमहरु सञ्चालन गरिदै आइएको बताए ।

कार्यक्रममा, प्रशिक्षक विद्या रायमाझी, प्रशिक्षार्थीहरु चनिश्वर दर्लामी, सन्दीप घिमिरेले आ–आफ्ना अनुभव शेयर गरेका थिए । विभिन्न सीपमूलक तालिममा सहभागी भई सिप परीक्षण्मा उत्र्तिणहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । प्रालि पाल्पाका प्रवन्धक नारायण भट्टराईको अध्यक्षता, तालिम संयोजक बलबहादुर उचैको स्वागत, प्रालिका कार्यक्रम संयोजक कमल भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update