Shittalpati
वडा अध्यक्षमाथि किन खनियो कार्यपालिका ?

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकामा अहिले राजनैतिक दल र जनप्रतिनिधीहरुबिच हिलो छ्यापा छ्यापको अवस्था सिर्जना भएको छ । कार्यपालिकाका सदस्य स्वयंलाई कार्यपालिकाले नै कारवाही स्वरुप जरिमाना तोकेपछि यसले राजनीतिक गन्ध लिएको हो ।  

 ६ का वडा अध्यक्ष र सिंगो कार्यपालिकासहित जिल्लाका ठूूलादलहरु नेपाली काँग्रेस र एमाले यति बेला एक अर्को माथि आरोप –प्रत्यारोप साध्ने र आफु नजिकका व्यक्ति र निकायलाई चोखाउने काममा सक्रिय भएका छन् । 

यहाँसम्म कि जिल्लाका पत्रकारहरु समेत यस विषयमा विभाजित हुन पुगेको घटनाक्रमले स्पष्ट पारेको देखिन्छ । कतिपय मिडियाले पालिका अध्यक्ष सरस्वती चिदीको टीमलाई सघाई रहेका छन् भने, कतिपयले वडाअध्यक्ष लक्ष्मी अधिकारी अन्यायमा परे भन्ने जिकिर गर्दै आएको देखिन्छ । कानूनतः कार्यपालिकाको सदस्यलाई उनी आफै सहभागी भएको बैठकबाट नदीजन्य वस्तुको हिनामिना भयो भनेर कारवाही स्वरुप जरिमाना गर्ने निर्णय न्यायिक हिसावले गलत भयो भन्नेहरु पछिल्लो पटक आएर जुर्मुराउँन थालेपछि घटना जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग समेत ठोक्किने अवस्था आएको छ  ।
   

गिट्टी, बालुवा डम्पिङ्ग गरेर राखेको भन्दै पालिकालाई उजुरी परेपछि एक महिना अघि पालिकाले आफ्ना वडाअध्यक्ष लक्ष्मी अधिकारीलाई जरिमाना गर्ने निर्णय गरेको थियो , तर स्थानीय बोटे समुुदायले भने डम्पिङ्ग गरि राखिएको बालुवा आफुहरुको रहेको भन्दै पालिकामा उजुुरी समेत दिएका छन् । उनीहरुले रोयल्टी तिरेर ल्याएको बताउँदै आए पनि प्रहरीको उपस्थितीमा कोठामा धुनेर, अपहरण शैलीमा प्रहरी फोर्सको निगरानीमा जवरजस्ती कागज गराएको घटनाले भने पछिल्लो समय थप चर्चा पाएको छ ।
     प्रहरीले त्यहाँ आफ्ना हाकिमहरुको आदेशले गर्यो कि ? पालिकाका केही पदाकिारीहरुले प्रहरी फोर्सको प्रयोग गरे भन्ने विषय गम्भीर बन्दै गएको देखिन्छ । प्रहरीको घेरावन्दीमा कोठामा थुनेर धम्की सहितको बयान गर्न लगाएको पीडित दलबहादुर बोटे बताउँछन् । उनले आफुहरुले जिताएर पठाएका जनप्रतिनिधिहरुले नै अन्याय गरेको गुनासो गरे । बोटेले भने ‘ हामीले रोयल्टी तिरेर लिएका हौं तर पालिकाले हैन भन्दै अन्याय गर्‍यो ।’ गिट्टी बालुवा आफ्नो रहेको र उठाउन पाउँ भन्दै पालिकामा निवेदन सहित अनुरोध गर्दा पनि त्यसको सुनवाई हुनु त परको कुरा आफुहरुलाई थप तनाव दिएको पिडित बोटेको भनाई छ । थप अनुसन्धान गर्न भन्दै उनीहरुलाई  प्रहरीको घेरावन्दीमा राखेर जवरजस्ती कागज गराउन खोजेपछि नेपाली काँग्रेसका केही नेताहरु भने उनीहरु अन्यायमा परे भन्दै त्यो कदम रोक्ने प्रयास गरेका थिए, तर उनै अन्यायमा परेकाहरुलाई न्याय दिन खोजेका नेपाली काँग्रेसका नेताहरुले गरेको क्रियाकलाप प्रति आरोप लगाउँदै पत्रकारसम्मेलन गरी विज्ञाप्ति मार्फत बदनाम गर्ने कार्य आपत्ति जनक रहेको नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति मुक्तिराम जिसीले बताए ।

कार्यपालिकाको बैंठकमा कुरै नगरी राजनैतिक पूर्वाग्रहको आधारमा आफु बैठक सकेर हिडेपछि, जरिमानाको निर्णय गरी राजनीतिक प्रतिशोध साँधेको पीडित वडाअध्यक्ष अधिकारीको गुनासो छ ।  उनले अनुगमनमा वडा कार्यालयलाई जानकारी समेत नदिई नियमानुसार ठेक्का लागेको घाटबाट गाउँपालिकाको कानुन अनुरुप राजश्व दाखिला गरी स्थानीय ब्यक्तिहरुले संकलन गरिएको नदीजन्य पदार्थलाई केही व्यक्तिहरुको लहलहैमा राजनीतिक पूर्वाग्रह साँधी जननिर्वाचित वडा अध्यक्षमाथि कपोकल्पित आरोप लगाइएको बताए ।  उनले भने ‘न्याय मरेको छैन्, मैले न्याय, पाउँछु,जहाँबाट म प्रति अन्याय गरियो, त्यही निकायले न्याय दिन कर लाग्छ, भन्ने आधार मानेर अगाडि बढेको छु ।’ पालिका अध्यक्ष सरस्वती चिदीले  भने वडाअध्यक्षलाई आफुहरुले राजनीतिक पुर्वाग्रहका आधारमा त्यसो नगरेको दावी गर्दै आएकी छन् ।

वडाध्यक्ष अधिकारीलाई यम्घास्थित मचेटाघाट बगर क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्/निकासी गरेको आरोपमा पालिकाले गत असार ३० गते जरिवाना गर्ने निर्णय गरेको थियो । पालिकाले आर्थिक वर्ष २०७९/८० मा वडा नं. ६ यम्घा दर्पुकको टिपुवाघाटलाई नदीजन्य पदार्थको निकासीको लागि ठेक्का लगाएको थियो । त्यहीबाट स्थानीय प्रकाश र दलबहादुर बोटेले किनेको बताएका छन् । गाउँपालिकाले अनुगमन गरी अवैध ठहराएको डम्पिङ्ग क्षेत्रमा राखिएको नदीजन्य पदार्थ आफुले नै रसिद काटेर किनेको प्रकाश बोटेले बताए । ठेक्का पाएको पारिलेक कन्र्सट्रक्सनका सञ्चालक तिलकराम न्यौपानेले पनि स्थानीय प्रकाश र दलबहादुर बोटेले आफुहरुसंगै किनेको बताएका छन् । उनले भने ‘गाउँपालिकाले अनुगमन गरी अवैध ठहराएको डम्पिङ्ग क्षेत्रमा राखिएको नदीजन्य पदार्थ मैले नै रसिद काटेर विक्री गरेका हुँ ।’ 

यद्यपी बगनासकाली गाउँपालिकाले भने उक्त नदीजन्य सामग्री यहीकै अर्को मचेटाघाटबाट अवैध रुपमा ल्याएको बताउदै आएको छ । उक्त घाटको भने ठेक्का लागेको छैन् । गिट्टी बालुवा किनेर बेच्ने यहाँका बोटेहरुको वर्षौदेखिको आम्दानीको स्रोत हो । जनप्रतिनिधिहरुबिच लडाईले  भने ति सीधा–साधा बोटेहरु त्रासमा छन् । उनीहरुले आफुहरुलाई स्थानीय सरकारले न्याय दिनुपर्ने भन्दै मिडिया, राजनीतिक दलहरुसँग आग्रह गर्दै आएका छन् । उनीहरुले न्याय माग्दै  गर्दा प्रहरीले भने उनीहरुलाई  पालिका भवनमा बोलाएर धम्क्याउने, तानाशाही प्रवृति देखाउँने जस्ता हर्कत गर्दा समेत  गृह मन्त्रालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय किन मौन बसेको भन्ने प्रश्न अहिले चर्चाको विषय बनेको छ । 

भिडियो पनि हेर्नुहोस्

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update