हिन्दु धर्मशास्त्र अनुसार आज नाग पञ्चमी पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा ढोकामाथि वा ढोकाको दायाँ–बायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ । ज्योतिष शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख) का नागहरूको पूजा गर्ने गरिन्छ । ती नाग वा तिनको नाम लेखिएको चित्र घरको मूल ढोकामाथि वा ढोकाको दायाँ–बायाँ गाईको गोबरले टाँसेर पूजा गर्ने शास्त्रीय परम्परा रहेको छ । नागहरूमा पानी पार्ने शक्ति भएको विश्वासले गर्दा वर्षाकालमै नागपूजा गर्ने परम्परा रहेको हो भन्ने किवदन्ती रहेको छ । नागपञ्चमीको दिनमा नागको मूर्तिहरूमा दूध र दहीले स्नान गराउने र अर्पण गर्ने चलन छ । सर्पलाई गहनास्वरूप प्रयोग गर्ने शिवको ऋषेश्वर स्वरूपलाई पनि यसै दिन स्मरण र पूजन गरिन्छ । घरभित्र सर्प नपसुन् भनेर मूलढोकाको माथिल्लो भागमा अष्टनाग र कालियदमन चित्र टाँसिन्छ ।
वैदिक समयदेखि पूजा प्राप्त गरेका नागलाई श्रीकृष्णले विशेष महत्व दिएका छन् । प्रकृतिपूजा र उपासनाको परम्परामा हिन्दुहरुले मनाउँने नागपञ्चमीले पर्यावरणीय महत्वलाई झल्काउँछ नै, अर्कोतिर हिन्दु धर्मको दार्शनिक पक्षलाई सम्झाउँछ । सर्पले प्रकृतिमा भएको विषाक्त तत्वहरुलाई आफूमा ग्रहण गरेर प्राकृतिक सन्तुलनलाई कायम राख्दछ । प्राचीनकालदेखि नै नेपालमा नागपूजा मनाउँदै आएको पाइन्छ । भगवान शंकरले गहनाको रुपमा र भगवान विष्णुले शैयाको रुपमा प्रयोग गर्ने नागलाई बौद्ध धर्ममा उत्तिकै श्रद्धाका साथ पूजिन्छ । कुनै पनि मानिसले घर वा आफ्नो लागि बासस्थान निर्माण कार्य सुरु गर्नु पूर्व उक्त भूमिमा नागको बास छ छैन भनि परिक्षण गराउँछन्, यदि उक्त भूमिमा नागको बास भए विधिवत रुपमा पूजा गरि नागलाई पन्छाएर नाग देवताको दोषबाट छुटकारा लिने धार्मिक आस्था रहिआएको छ । हिन्दु धर्मावलम्बीहरुले नागलाई देवताको रुपमा विशेष महत्व दिन्छन् । नाग देवता धर्तीमा बस्छन् भन्ने मान्यताले गर्दा धर्ती खनजोत गर्दा नाग देवतालाई चोट पुग्ने भएकाले नाग पञ्चमीको दिन धर्तीमा खनजोत समेत गरिन्दैन । नाग र मानिसको सम्बन्ध परापूर्वकालदेखि नै कुनै न कुनै रुप र स्वरुपमा रहिआएको पाइन्छ । यसर्थ नागलाई देवता मान्ने धर्मावलम्बीहरुले धार्मिक आस्था र विश्वासको रुपमा यस पर्वलाई भव्यताका साथ मनाउने परम्परा रहेको छ ।