Shittalpati
नागको पूजा गरी आज नाग पञ्चमी मनाइँदै

पाल्पा, प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नाग पञ्चमी आज मनाइँदै छ । परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

हरेक वर्ष श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी तिथि  हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबर सहित नागको पूजा अर्चना गरी मनाउँदैछन् । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो । यस दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शड्ढ गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वर्ग चिन्तामणिमा उल्लेख गरिएको छ ।

नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ । आफ्ना कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ । घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । 

सोमबार देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ । वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update