Shittalpati
मनाइयो नागपञ्चमी पर्व

पाल्पा, नागपञ्चमी पर्व सोमबार परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाउने गरिन्छ । साउनमा अधिकमास परेका कारण यो वर्षको नागपञ्चमी सौरमास अनुसार भदौमा परेको हो ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ । नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरमा नाग पञ्चमी मेला लागेको थियो । नाग देवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डु अर्पण गरेर पूजासमेत गरेर नाग स्तोत्रको पाठ गर्ने गरिन्छ । हिन्दू धर्मको मान्यता अनुसार यो दिन नागको पूजा गर्नाले सर्पका राजा नाग देवता खुसी हुन्छन्, त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको भय हुँदैन भन्ने मान्यतासमेत रहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update