Shittalpati
मिडिया सम्मेलन : प्रतिवद्धता कार्यान्वयनसँगै निरन्तरता देऊ

सञ्चार माध्यमहरुको समस्या पहिचान, समाधानका उपाय, संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्न भन्दै बुटवलमा मिडिया सम्मेलन गरियो । भदौ १ र २ गते भएको सम्मेलनमा लुम्बिनी प्रदेशका मिडिया हाउसलाई संगठित गर्दै हालदेखिएको आर्थिक संकट समाधानका उपाय खोज्ने र प्रदेश, स्थानीय सरकारका गतिविधी, क्रियाकलाप, सफलताका कथाहरु, उत्पादन र उद्यमशील स्थानीय उद्यमीका क्रियाकलापहरु मिडियाहरुमा बढी भन्दा बढी कभरेज हुन सकुन् भन्ने सोंच सम्मेलनको हो । सोही अनुसार सम्मेलनले १३ बुँदे घोषणापत्र जारी गर्दै सञ्चार गृहहरुमा देखिएको आर्थिक संकट समाधानका लागि तीन तहकै सरकार गम्भीर बन्नुपर्ने र तीनै तहका सरकारलाई बलियो बनाउन मिडिया हाउसहरु लाग्ने माग गरेको छ । सम्मेलनमा प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडियाहरु सवलीकरणमा प्रदेश सरकार कटिवद्ध रहेको समेत प्रतिवद्धता व्यक्त गरेका छन् । मुुख्यमन्त्रीले गरेका प्रतिवद्धताहरु कार्यान्वयन भएको खण्डमा लुम्बिनीका मिडियाले भावी दिनमा आर्थिक संकट व्यहोर्न नपर्ने विश्वास गर्न सकिन्छ । 

सरकारहरुले स्थानीय मिडियाहरुको प्रवद्र्धनमा लगानी गर्ने वातावरणका लागि सम्मेलनले तय गरेका १३ बुुँदे घोषणा पत्रले सम्मेलनको उचाइलाई थप बढवा दिएको छ । मिडिया सम्मेलनले प्रदेश मात्रै होइन, देश भरिनै नयाँ सन्देश र उत्साह थपेको छ । यो अत्यन्त राम्रो पक्ष हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, बरिष्ठ पत्रकारहरु कनकमणि दिक्षित, युवराज घिमिरे, बालकृष्ण चापागाई जस्ता दर्जनौ अग्रज पत्रकारहरुको उपस्थितिले सम्मेलनलाई थप प्रभावकारी भएको छ । प्रकाशन तथा प्रशारण संघ लुम्बिनीले मिडियाको विकास र प्रवद्र्धनका लागि सरकारहरुले निर्माण गर्ने कानुन, मिडियामैत्री बनुन् भन्ने उद्देश्य राखेर गरेको सम्मेलन आफैमा अत्यन्तै प्रभावकारी देखिएको छ । सम्मेलनले सरकार, मिडिया, निजी क्षेत्र आर्थिक सम्वृद्धिका लागि एक अर्का बीचका परिपुरक हुन भन्ने कुरालाई महत्व दिएको अवस्था देखिन्छ । सम्मेलनको अर्को विशेषता केवल छापा माध्याम मात्र नभएर, विद्युतीय र श्रव्य, दृश्य प्रसारण गर्ने मिडिया र सोसल मिडियाका सञ्चालकहरु समेत सहभागी भएका कारणले गर्दा सबै पक्षको समान सहभागितालाई प्रतिविम्वित गरेको पाइन्छ । मिडियाका समस्याहरु उजागर गर्ने कार्यमा सहयोगी बन्ने खालका यस्ता सम्मेलन र अन्तक्र्रिया बेला–बेलामा हुने परम्परालाई निरन्तरता दिने हो भने मात्र आवाज विहिनहरुको आवाज, प्रेस र प्रेसका लागि लोकतन्त्रको परिकल्पना पुरा हुन सक्छ । अन्यथा सधै एक आपसमा समस्याहरु साँधेर राख्ने बाहेक केही पनि हुन सक्दैन । यसर्थ सम्मेलनबाट भएका हरेक प्रतिवद्धता कार्यान्वयन गर्दै आगामी दिनमा समेत यस्ता सम्मेलन गर्न सबै पक्ष तयार हुनुपर्छ ।  

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update