Shittalpati
काठमाडौंमा पाल्पा छहरेलीहरुको भेला,  गरे रैनादेवी छहरा मिलन समाज काठमाडौं गठन

 पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा स्थायी घर भई काठमाडौंमा पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा बसोवास गर्दै आएका छहरेलीहरुको भेला काठमाडौंमा भएको छ । छहरेलीहरु बिच आपसी सम्बन्ध र आत्मीयता कायम गराउने उद्देश्यले भेला भएको हो । 

उक्त भेलाले रैनादेवी छहरा मिलन समाज काठमाडौं समेत गठन गरेको छ । भेलाले ढुण्डीराज पोखरेलको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । जसको उपाध्यक्षमा धनञ्जय पौडेल, सचिव ईन्द्र पछाई, सह सचिवमा मेलिना कार्की रहेका छन् । सदस्यहरुमा जीवन पोखरेल, सुरेश पौड्याल, विष्णु कंडेल, यम दर्लामी, प्रकाश गौतम र विष्णु रायमाझी रहेका छन् । भेलाले नेपाली सेनाको पूर्व रथी यादव बहादुर रायमाझी, नेपाली सेनाका पूर्व उप रथी ताराबहादुर कार्की, नेपाल प्रहरीका एआइजी माधव प्रसाद नेपाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिआइजी राम कार्की, पूर्व प्रशासक टेक वीरजंग रायमाझी लगायतलाई समाजको सल्लाहकारको रुपमा समेत चयन गरेको छ ।  

छहरेलीहरु बिच आपसी सम्बन्ध र आत्मीयता कायम गराउने उद्देश्यले समाज गठन गरिएको जनाइएको छ । आपसी सम्पर्क, सम्बन्ध सुमधुर बनाई भातृत्व र पारस्परिक एकतालाई थप मजबूद बनाउनु समाजको  मुख्य उद्देश्य रहेको सल्लाहकार तथा पूर्व डिआइजी राम कार्कीले  शितलपाटीलाई जानकारी दिए । उनका अनुसार सामाजिक सद्भाव, समानताको संस्कृति विकास गर्न, रैनादेवी छहरा गाउँपालिका भित्रका ऐतिहासिक, पुरातात्विक महत्वका स्थल,गुठी, मठ मन्दिर लगायतका धरोहर, रिती थिति, परम्परा सहितका सांस्कृतिक, आर्थिक पक्षको अध्ययन, अन्वेषण गरेर रणनैतिक महत्वका राय, सल्लाह, सुझाव सरोकारवाला निकायलाई सम्प्रेषण गर्न आवश्यक समेत महसुस गर्दै समाज गठन गरिएको हो । भेलाले गाउँपालिकाको आर्थिक, सामाजिक रूपान्तरण, सांस्कृतिक पहिचानको संरक्षण एवं संवद्र्धन तथा सामाजिक सद्भावका लागि एकतावद्ध भएर क्रियाशील हुने प्रण पनि गरेको छ । 

पूर्व डिआइजी तथा सामाजिक अभियान्ता कार्कीले भेलामा प्रस्तुत गरेको रैनादेवी छहरा मिलन समाज, काठमाडौंको परिकल्पना, उद्देश्य, कार्यक्रमको स्वरूप समेतका बारेमा प्रकाश पारिएको अवधारणा पत्र सर्वसम्मतबाट पारित समेत गरिएको थियो । नेपाली सेनाका पूर्व रथी तथा सल्लाहकार यादबबहादुर रायमाझीले नवगठीत समितिलाई बधाई तथा शुभकानमा दिँदै समाजलाई रणनैतिक महत्वका विषयमा परामर्श दातृ संस्थाका रूपमा क्रियाशील बनाउनुपर्नेमा जोड दिए । समाजले निकट भविष्यमा रैनादेवी छहरामा कार्यशाला गोष्ठी गरी पालिकाको विकास र समृद्धि, जनजिविका एवं जीवनस्तर सुधार सम्बन्धी कार्यपत्र, अवधारणा पत्र तयार पार्ने र सम्बद्ध निकायमा लैजाने योजना रहेको जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update