Shittalpati
वर्ष दिनमा आठ सय बढी पुस्तक अध्ययन गरिन आठ वर्षीया लिनाले

गल्याङ (स्याङ्जा),नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् आठ वर्षीया लीना पाण्डे । उनले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पारेकी छिन् ।

विसं २०३० मा स्थापना भएको विद्यालयमा बाल पुस्ताकालय नहुँदा साना बालबालिका विषय वस्तुभन्दा बाहेकका पुस्तक पढ्न पाउँदैनथे । अहिले विद्यालयले बाल पुस्तकालय स्थापना गरेपछि यहाँका बालबालिकामा सबै विषयवस्तु समेटिएका पुस्तक पढ्ने रुचिको विकास हुँदै गएको पुस्तकालयका व्यवस्थापक रुपा न्यौपानेले बताइन् । एक वर्ष अगाडि विद्यालयमा साक्षरता कार्यक्रम लागू भएसँगै बाल पुस्तकालय स्थापना भएको हो । ‘बालमैत्री पुस्तकालयमा साना कक्षाका विद्यार्थीले रमाइला रमाइला बालकथाका पुस्तक पढ्न थालेका छन्’, उनले भनिन्, ‘विद्यार्थीले पुस्तकालयमा मात्र नभएर आफूलाई मन पर्ने पुस्तक घरमा लगेर पनि पढ्न थालेका छन् ।’ बालबालिकाले घरमा लगेका पुस्तक फिर्ता गर्ने क्रममा किताबभित्रका विषयवस्तु सोध्दा सही उत्तर दिने गरेको व्यवस्थापक न्यौपानेले बताइन् । यसअघि विद्यालयमा बाल पुस्तकालय नहुँदा बालबालिका उमेरअनुसार बाहिरी पुस्तक पढ्नबाट वञ्चित थिए । लीनालाई पनि किताबसँग रमाउने बानीपरेको थिएन । पाठ्यक्रम र पाठ्यपुस्तकमा जे छ, शिक्षकशिक्षकाले जे पढाउनुहुन्छ त्यही विषयवस्तुमा सीमित हुनुपर्ने बाध्यता थियो ।  व्यवस्थापक न्यौपानेले पुस्तकालयमा विद्यार्थीले पढ्ने गरेका पुस्तकसहितको तथ्याड्ढ आफूले राख्ने गरेको बताइन् । ‘लीनाले गत २०७९ साउनदेखि अहिले २०८० असार मसान्तसम्म आठ सय ६७ पुस्तक पेढेकी छिन्’, उनले भनिन् । व्यवस्थापक न्यौपानेका अनुसार कक्षा तीनकी कृतिका न्यौपाने र कक्षा दुईकी विभा भट्टराई पनि लीनाले जस्तै धेरै पुस्तक पढ्नेमा पर्छन् । लीनाकी आमा रेनुका डुम्रेले छोरीले धेरैजसो समय बालपुस्तक पढ्नमा बिताउने गरेको बताईन् । उनले विद्यालयमा बाल पुस्तकालय स्थापना भएदेखि छोरीले टेलिभिजन, मोबाइललगायतका सामग्रीमा ध्यान दिन छोडेको बताइन् ।

‘स्कुलबाट फर्केपछि गृहकार्य सकाउने पहिलो काम हो, साँझको खाना खाएपछि रङ्गीन बालकथा पढ्छिन्’, डुम्रेले भनिन्, ‘गृहकार्य गर्न र उनले सक्ने व्यक्तिगत सरसफाइका काम अर्याउन पर्दैन, घरमा पनि अनुशासित भएर अध्ययन गर्न सिकाएका हुन्छौँ ।’ लीनाले पुस्तकालयबाट किताब घरमै लगेर बाबाआमालाई पनि सुनाउने गरेको बताइन् । ‘एकपछि अर्को किताब कस्तो होला भन्ने लागेर नयाँनयाँ किताब पढ्छु’, लीनाले भनिन्, ‘विद्यालय खुल्दा कहिल्यै पुस्तकालयका पुस्तक पढ्न छुटाउँदिन, किताब छानीछानी पढ्न पाइने, घरमा पनि लैजान पाइने भएकाले विद्यालय आउन मन लाग्छ ।’ लीनाले लामो समय विद्यालय बिदा हुँदासमेत पुस्तक घरमा लगेर पढ्ने गरेको बताइन् । विद्यालयका प्रधानाध्यापक पशुपति पाण्डेले बालमैत्री पुस्तकालय स्थापना भएपछि बालबालिकाले कसैको दबाबबिना पुस्तक पढ्न थालेको बताए । उनले पुस्तकालयका कारण बालबालिकाको विद्यालयमा अनुपस्थित हुने दर कम हुँदै गएकोसमेत जानकारी दिए । प्रधानाध्यापक पाण्डेले पुस्तकालयका कारण बालबालिकामा विकास भएको पढ्ने सीप र बानीमा आएको परिवर्तन देखेर खुसी लागेको बताए । कालीगण्डकी गाउँपालिकामा ३५ सामुदायिक विद्यालय छन् । गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले यहाँका सामुदायिक विद्यालयमा कक्षा दुुईमा अध्ययन हरेक विद्यार्थीले नेपाली सरर्र पढ्न सक्ने दाबी गरे । उनले यहाँका पुस्तकालय युरोपेली मापदण्डका आधारमा सञ्चालन गरिएको बताए । सूूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले यहाँका सामुुदायिक विद्यालयमा क्लबले पुस्तकालय  व्यवस्थापनको काम गरिरहेको बताए । उनले ‘रुम टु रिड’ संस्थाको सहयोगमा बालमैत्री पुस्तकालय सञ्चालन गरिएको जनाउँदै यस अभियानमा पछिल्लो समय पालिकाले पनि लगानी गरेको बताए । विद्यालयमा रहेका पुस्तकालयको अनुगमन, रेखदेख र व्यवस्थापनका लागि १५ शिक्षकसहित दुई जना प्राविधिक खटाइएको उनको भनाइ थियो ।  


 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update