Shittalpati
किन दोहोरिन्छन् दुर्घटना ?

दिनहुँ सडक दुर्घटनाका समाचारले हाम्रो यात्रा अत्यन्त जोखिमपूर्ण छ भन्ने संकेत गरिरहेको छ । दुर्घटनाले सडक सुरक्षा अत्यन्तै कमजोर भएको देखाउँछ । दैनिकजसो ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेका छन् । दुर्घटनाबाट धेरै व्यक्तिको मृत्युमात्रै भएको छैन, कयौँ व्यक्तिहरुको अङ्गभङ्ग समेत भएको छ । सडक दुर्घटना न्यूनीकरण होला भन्ने अपेक्षा गरिए पनि दैनिक जसो घट्ने ठूला दुर्घटनाले थप चिन्तित बनाएको छ । जसको पछिल्लो श्रृङ्खलामा बुधबार र विहीबार मात्रै देशमा दुई ठूला सवारी दुर्घटनाहरु भए । धादिङको चालिसेमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जना यात्रुले ज्यान गुमाएका छन् भने त्यसको केही घण्टालगत्तै बाराको चुरियामाईमा काठमाडौँबाट महोत्तरीतर्फ गइरहेको अर्को बस दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भयो । दुवै बसमा सवार रहेका झण्डै ३० जना यात्रु घाइते भए, जसमध्ये केही गम्भीरसमेत रहेको बताइएको छ । एकैदिन भएका यी सडक दुर्घटनाहरु त केवल प्रतिनिधि घटनामात्रै हुन् ।

नेपालमा सडक दुर्घटनाका कारण वर्षेनी करिब २ देखि ३ सय जनाले ज्यान गुमाउनु, सयौं घाइते र हजारौं अपांग भइरहेको तथ्याङ्क हाम्रो सामु छ । यसले सडक दुर्घटनाको कहालीलाग्दो तस्वीर देखाउँछ । केन्द्रीय प्रहरीको तथ्यांकअनुसार पनि देशभर गत आर्थिक २०७९÷०८० मा मात्र २३ हजार ५ सय ९७ वटा सवारी दुर्घटना भए । जसमा २ हजार ३ सय ६८ जनाले अकालमै ज्यान गुमाउनुप¥यो । ३० हजार २ सय २६ जना घाइते भए । त्यसभन्दा अगाडिको आव २०७८÷०७९ मा सवारी दुर्घटनामा परी २ हजार ८ सय ८३ जनाले ज्यान गुमाएका थिए । दुर्घटना केवल मर्ने र अङ्गभङ्ग हुनेहरुको मात्र सरोकारको विषय होइन र हुँदैन पनि, त्यसले घरपरिवार, आफन्तजनमा समेत ठूलो कष्ट दिने गर्छ । दुर्घटनामा परेकाहरुको परिवारलाई राहत दिएर केही मन बुझाउने गरिए पनि दुर्घटना नियन्त्रणमा ध्यान नदिदा सम्म यस्ता कहाली लाग्दा घटनाहरु घटी नै रहने छन् । सरकारको सवारी दुर्घटनाप्रतिको उदासीनताकै कारण देशमा दैनिकजसो घटनाहरु दोहोरिरहेको छन् । ट्राफिक नियम पालना गर्न सहयोग पु¥याउने, सडक सुरक्षाबारे चेतनामूलक कार्यक्रम गर्ने, पैदलयात्री, साइकल तथा मोटरसाइकलचालकको सुरक्षाका सम्बन्धमा काम गर्ने भनेर हामीकहाँ धेरै संघ–संस्था खुलेका छन्। व्यापक प्रचार–प्रसार पनि भएको देखिन्छ तर पनि  दुर्घटना र मृत्यु हुनेको संख्या रत्तिभर घटेको छैन, बरु दिनप्रतिदिन बढेको छ। आखिर यति धेरै दुर्घटना के कारणले हुन्छ र यसका जिम्मेवार को–को हुन् ? यस्ता घटना किन हरेक वर्ष दोहोरिइरहन्छन् ? यसतर्फ सरकारले गम्भीर भएर सोच्न जरुरी छ । अब पनि त्यसतर्फ नसोच्ने हो भने धेरैले सडक दुर्घटनाकै कारण अकालमै ज्यान गुमाउनुपर्ने निश्चितजस्तै छ ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update