केही दिन देखिको अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी पहिरो र डुबान भएका समाचारहरु आइरहेका छन् । विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हवाई सेवासमेत प्रभावित भएको छ । बाढी र डुबानका कारण ठाउँ–ठाउँमा सञ्चार सेवामा बाधा पुगेको छ । मुलुकका धेरै ठाउँमा पानी परिरहेकाले तराईका धेरै भूभागमा डुबानको खतरा अझै छ ।
ताप्लेजुङ, पाँचथर, तेहथुम, संखुवासभा, सोलुखुम्बु बोखलढुंगा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर मकवानपुर, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर भक्तपुर, धनुषा, महित्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी पूर्वं, रसुवा, नुवाकोट, गोरखा र आसपास भई बहने केही स–साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ । यी जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन मौसम पूूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । भारी वर्षाका कारण बागलुङका दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् भने बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । यस्तो अवस्थामा विपद्मा परेकाहरूका लागि खोज, उद्धार र राहत वितरण कार्यमा सक्रिय रहँदै सम्भावित जोखिमबाट जोगिन÷जोगाउन सबै जुट्नुपर्ने बेला आएको छ । सामान्यतया प्रकृति मानिसको नियन्त्रणमा हुँदैन तर यसको प्रभावलाई कसरी कम गर्न र यसबाट आफू कसरी सुरक्षित रहन सकिन्छ भनेर चाहिँ मानिसले विभिन्न उपाय अवलम्बन गर्न सक्छ । यस वर्षको वर्षाका कारण अहिलेसम्म मानवीय क्षति कम भए पनि भौतिक क्षति भने धेरै नै भएको छ । मानिसलाई केही नभएको तर बस्ने घर भत्केको वा खेती गरेर खाने खेतबारी बगाएको वा पहिरोमा परेका छन् । त्यो पनि एउटा गम्भीर समस्या र क्षति नै हो । अझै बर्खाको समय धेरै बाँकी छ । बाँकी समयमा यस्ता भारी वर्षा हुनसक्ने सम्भावनातर्फ पनि सचेत रहनुपर्छ र सरकारले त्यसका लागि विपद् व्यवस्थापन तयारीका कामहरू गर्नु आवश्यक छ ।