Shittalpati
आज १० अर्बको विकास ऋणपत्र जारी हुँदै

पाल्पा, नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्न लागेको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले  छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । ऋणपत्रका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । भदौ ११ मा राष्ट्र बैंकले ऋणपत्र बिक्री जारी गर्ने जनाएको छ ।

बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । आउँदो पुससम्म सरकारले १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले तय गरेको आन्तिरिक ऋण संकलनका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ । जसअनुसार पुससम्ममा १ खर्ब १० अर्ब रुपैयाँ र त्यसपछिका ६ महिनामा १ खर्ब ३० अर्ब गरेर यस वर्ष कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । सरकारको लक्ष्य अनुसार राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलगायत औजारमार्फत आन्तरिक ऋण उठाउँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update