पाल्पा, नेपाली विषयमा डिग्री हासिल गरेका तानसेन –७ काजीपौवाका गम्बीरजंग रायमाझीसँग सरकारी जागिरको कुनै गुञ्जायस थिएन् । पैसा कमाउन विदेश पलायन हुने सोच कहिल्यै आएन । बरु गाउँघरमै आफ्नो बारीमा खेती गर्न पाउँदा उनी औधी रमाउँथे । १६ वर्ष उमेरदेखि नै व्यवसायिक कृषिमा लागेका रायमाझीको दैनिकी बारीमा फल्दै गरेका कृषिजन्य उपजको रेखदेखबाट सुरु हुन्छ ।
विहान सबेरै उठेर तकारीमा पानी लगाउनेदेखि गोडमेल सकेर ६ बजे नै नजिकैको क्याम्पस पढाउन पुछन् । ११ बजेसम्म अध्यापनमै व्यस्त रायमाझी छुट्टी भएपछि भने घर फर्किर पुनः कृषि कर्ममै लाग्छन् । उनलाई सघाउन माइलो भाई सुरेन्द्र र कान्छो भाइ सुरज पनि बारीमा पुग्छन् । गोलभेडा, काउली, बण्डा, करेला र खुर्सानी खेतीको गोडमेलमै उनीहरुको दैनिकी वित्छ । भर्खरका यी तीन दाजुभाइ मिलेर काजीपौवास्थित आफ्नै १३ रोपनीमा लोभलाग्दो कृषि खेती गरिरहेका छन् । माइलो भाई सुरेन्द्रले पनि डिग्री गरेका छन् भने कान्छो भाइ सुरजले होटल व्यवस्थापनमा स्नातक अध्ययन गरेका छन् । पढाई सकेर दाजुभाइले गाउँमै व्यावसायिक कृषिमा रमाएको देखेर छिमेकी छक्क परेका छन् । रायमाझी दाजुभाइले रायमाझी एकिकृत कृषि तथा पशु फर्ममार्फत व्यवसायिक तरकारी खेती गर्र्दै आएका हुन् । ठूलो बुवा कमल र आमा गीतादेवीको प्रेरणाबाट १६ वर्षको उमेरदेखि नै व्यवसायिक कृषिमा लागेको गम्बीरजंग बताउँछन् ।
उनी भन्छन् ‘मेरो हजुरबुवा कृषि गर्नु हुन्थ्यो, उहाँको सिको गरेर मेरा ठूलो बुवाले पनि कृषि नै गर्नु भयो, आमा सुन्तला जात तथा फलफूूल विकास केन्द्र बागवनीमा काम गर्ने, जसको काम देखेर मलाई पनि कृषि गर्नु पर्छ भन्ने सोच पलाएको हो ।’ कक्षा ९ पढ्दादेखि नै बारीमा काउली, बण्डा, सिमि फलाएर ढाक्रामा राखेर घर–घरमा बेच्न लैजाने गरेको गम्बीर सम्झन्छन् । उनले तरकारी बेचेरै घर, पढाई खर्च चलाउने मात्र होइन घर समेत खडा गरेका छन् । उनी घरको जेठो छोरा भएकाले पनि भाइहरुले दाईको कामलाई अनुसरण गरे । तीन भाइ मिलेर पढाईसँगै कृषिलाई अगाडि बढाए । अहिले उनीहरु पढाई सकेर कृषिमै रमाइरेका छन् । दाजुभाइले तकारी विक्रीबाट राम्रो आम्दानी गरिरहेका छन् । सरकारी जागिर खानेको भन्दा उनीहरुको कमाइ कम छैन । विदेश पलायन हुने युवाका लागि तीन दाजुभाइहरु उदाहरण नै बनेका छन् । दाजुभाईले मौसमी, बेमौसमी दुवै सिजनका तरकारी उत्पादन गर्दै आएका छन् । काँक्रा, गोलभेँडा, बन्डा, काउली, सिमी, भेण्टा, साग, लगायतका तरकारी उनीहरुले उत्पादन गर्ने गरेका छन् । तरकारी विक्रीबाटै उनीहरुले वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी गर्दै आएका छन् । प्लाष्टिक घर (टनेल) मा समेत उनीहरुले तरकारी लगाएका छन् ।
नर्सरी बनाएर प्याज, काउलीका बिरुवा, खुर्सानी तिहारमा लगाउने फुल समेत दाजुभाइले उत्पादन गर्छन् । उब्जाउ माटो र सिँचाइको प्रसस्त सुविधा भएकाले पनि तरकारी राम्रो उत्पादन हुने गरेको गम्बीर बताउँछन् । फार्मको सबै उत्पादन तानसेनकै बजार क्षेत्रमा खपत हुन्छ । पहिलेजस्तो ढाकारमा राखेर घर–घर पुर्याउनु पर्दैन । उत्पादन दिन सके बजारको कुनै अभाव नभएको उनीहरु बताउँछन् । तरकारी खेती थप विस्तार गर्ने योजनामा रहेको सुरेन्द्र रायमाझीले बताए । उनी भन्छन् ‘जग्गा आफ्नै भएकाले भाडा तिर्नु पर्दैन् ।’ ‘व्यावसायिक रूपमा कृषि गरेरै राम्रो आम्दानी गर्न सकिने रहेछ,’ उनी भन्छन् ‘खेतीबाट राम्रो आम्दानी भइरहेको छ, खर्चको अभाव छैन ।’ होटल व्यवस्थापनमा स्नातक गरेका सुरज केही समय वैदेशिक रोजगारीको सिलसिलामा चाइना पुगेर फर्किएका हुन् । प्रविधिको उच्चतम् प्रयोग गरेर व्यावसायिक कृषि खेती गर्दा आफूले मिहिनेत गरे अनुसारकै प्रतिफल लिन सकिने सुरजले बताए । ‘पहिला प्रविधिका बारेमा खासै थाहा भएन,’ उनले भने, ‘अहिले प्रविधिको प्रयोग पनि गर्दै छौं ।’ आफूहरूजस्ता युवाले गाउँ फर्केर व्यावसायिक कृषि खेती गर्दा पनि राज्यका तर्फबाट भने कुनै सहयोग नपाएको उनको गुनासो छ । पहुँचका भरमा कृषिको अनुदान पाउने प्रवृत्तिका कारण पनि आफूहरू मर्कामा परेको रायमाझीको भनाई छ ।
उनीहरुले आफ्नो जग्गामा तकारी मात्र लगाएका छैनन्, विभिन्न प्रजातिका घाँस समेत लगाएका छन् । घाँस विक्रीबाटै उनीहरुले वार्षिक एक लाखसम्म आम्दानी गर्छन् । तीन भाइलाई आमा गीतादेवी, जेठी बुहारी सिर्जना र माइली बुहारी तुल्सीले समेत सहयोग गर्दै आएका छन् । ‘हाम्रो परिवार नै कृषि कर्ममा लागेको छ । कृषिमा छोराहरूको मेहनत देखेर खुसी लाग्छ’ आमा गीतादेवीले भनिन् । कृषिले उनीहरुलाई आत्मनिर्भर मात्र बनाएको छैन, इज्जत पनि दिलाएको छ । केही समय अघि उनीहरुले गाई पालन समेत गरेका थिए । अहिले गाई पालन छोडेर तरकारीमै केन्द्रित छन् । ‘कृषिमै भविष्य देखेर लागेका छौँ, अझै धेरै गर्नुपर्ने छ’, गम्बीरले भने, ‘आफ्नै ठाउँमा, घर परिवारसँग खुशीसाथ बसेर काम गर्न पाउनु नै हाम्रो खुसी, सन्तुष्टि हो ।’ उनले अरुको देशमा खर्चने श्रम र पसिना आफ्नै माटोमा सिञ्चित गर्न पाउँदा गौरव लाग्ने गरेको सुनाए । गम्बीर विभिन्न शैक्षिक, सामाजिक र वित्तिय क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन् ।