Shittalpati
रोयल्टी रसिद प्रमाणीकरणपछि बोटे युवाहरुको धर्ना स्थगित

पाल्पा, गिट्टी, बालुवा निकासीको रोयल्टी रसिद प्रमाणिकरणको माग गर्दै तीन दिनदेखि बगनासकाली गाउँपालिकाको कार्यालयमा धर्ना बस्दै आएका वडा–६, यम्घा दर्पुकका बोटे युवाहरुले धर्ना स्थगित गरेका छन् । आइतबार पालिकाले रोयल्टी रसिद प्रमाणिकरण गरेको प्रमाणित प्रतिलिपी दिएपछि उनीहरुले धर्ना स्थगित गरेका हुन् ।

राजश्व समितिको बैठक बसी पालिका अध्यक्ष सरस्वती चिदी (दर्लामी), उपाध्यक्ष हरिप्रसाद पाठक र प्रमुख प्रशासकिय अधिकृत बद्रीनाथ लम्सालले युवाहरुको आग्रह अनुसार रोयल्टी रसिद रुजु गरी प्रमाणित प्रतिलिपी दिएका छन् । ३५ वर्षीय दलबहादुर बोटे, २७ वर्षीय प्रकाश बोटे र ६८ वर्षीय लेखनाथ अधिकारीले नदीजन्य पदार्थ निकासीबापत ठेकेदारले काटेको रोयल्टी बापतको रसिद सक्कल भए, नभएको प्रमाणित गरिदिन माग गर्दै शुक्रबारदेखि धर्ना बसेका थिए । गाउँपालिकाले रोयल्टी बापतको बिल प्रमाणिकरण गर्न आइतबारको समय दिएपछि उनीहरु  धर्ना बसेका हुन् ।

वडाका वडाअध्यक्ष लक्ष्मी अधिकारीले डम्पिंग गरेको भन्दै कार्यपालिकाले एक महिना पहिला वडाअध्यक्ष अधिकारीलाई जरिमाना गर्ने निणर्य गरेको थियो ,तर डम्पिंग गरिएको बालुवा वडाअध्यक्षको नभएको भन्दै वडाका ति बोटे युवाहरुले आफुहरुले रोयल्टी तिरेर ल्याएको बताउँदै आएका थिए । उनीहरुको बिल नक्ली रहेको भन्ने विषय बाहिर आएपछि ति युवाहरु रसिद प्रमाणिकरणका लागि पालिका पुुगेका हुन् ।  युवाहरुले दिएको निवेदन र ठेकेदारले काटेको रोयल्टी बापतको रसिद रुजु गर्दा एउटै देखिन आएको स्रोतले जनाएको छ ।     

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update