वैदेशिक रोजगारमा जाने कयौ नेपालीहरु ठगिने क्रम बढ्दो छ । नेपालका कतिपय मेनपावरले रोजगारीको लोभमा वर्षौंदेखि हजारौं युवायुवतीलाई पटक–पटक ठगिरहेका छन् । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भएपनि व्यक्तिगत ठगीमा कमी आएको छैन । संस्थागत रूपमा भने वैदेशिक रोजगारीमा जाने कामदारबाट तोकिएको भन्दा बढी शुल्क लिएको, सम्झौतामा उल्लेख भएको भन्दा फरक काम दिएको, सम्झौतामा उल्लेख भएको भन्दा घटी पारिश्रमिक दिएको लगायतका उजुरी पर्ने गरेका छन् तर पनि कारवाही भएको छैन । मेनपावरविरुद्ध सयौं पटक उजुरी पर्दा वैदेशिक रोजगारीको नियमन र व्यवस्थापन गर्ने जिम्मेवारी लिएका निकाय तैं चुप मैं चुपको अवस्थामा छन् । यो अत्यन्त दुःखको कुरा हो ।
वैदेशिक रोजगारीका क्रममा ठगिएका पीडितहरुको फेहरिस्त विभागलाई जाहेर नै छ तर, पनि सरकारले यसलाई नियन्त्रण गर्न अनुगमन संयन्त्र प्रभावकारी बनाउन सकिरहेको छैन । वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो देखिन्छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ दिदीबाहिनी, आफन्त, सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सी, तालिम प्रदायक संस्था र स्वास्थ्य संस्था लगायतबाट ठगिने गरेका छन् । सरकारले ढगी गर्नेहरुलालई कडा कानुनी कारवाही गर्नुपर्ने हो तर त्यसो गर्न सकिरहेको छैन । वैदेशिक रोजगारीमा ठगी नियन्त्रण गर्न सरकारले विगतदेखि नै पहल थालेको जनाए पनि सफल हुन नसक्नु दुखद् हो । दिनहुँजसो युवाहरु ठगिन बाध्य भइरहेका छन् । नेपालमा रोजगारीका अवसरहरु नभए पछि उनीहरु एजेन्टमार्फत ठगिन बाध्य भएका हुन् । सरकारले के स्वदेशमै युवाहरुलाई रोजगारीका अवसर सिर्जना गरिदिनुप¥यो होइन भने सहज तरिकाले वैदेशिक रोजगारमा जाने वातावरण सिर्जना गरिदिनुपर्छ । ठगी गर्ने जो कोहीलाई कानुनी कठघारमा ल्याएर सहज रुपमा विदेश जाने वातावरण बनाईदिने कुरामा सरकार गम्भीर भएर लाग्न जरुरी छ ।