Shittalpati
आइपिओ जारी गर्दै भिजन लुम्बिनी

पाल्पा, सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धधक भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी गर्न लागेको छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको लागि यही भदौ १९ गतेदेखि आइपिओ जारी गर्न लागेको हो ।

आयोजनाको प्रभावित क्षेत्रका रूपमा रहेका माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं १९ का स्थानीय बासिन्दाले कम्पनीको आइपिओमा आवेदन दिन सक्ने छन् । कम्पनीले १९ करोड १२ लाख ५० हजार बराबरको १९ लाख १२ हजार पाँच सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागिएको जनाएको छ । यो कम्पनीको पुँजीको १० प्रतिशत हो । सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशतले एक लाख ९१ हजार दुई सय ५० कित्ता साधारण सेयर भने बैदेशीक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिने छ ।

कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम्मा तीन लाख ८० हजार कित्ता र  वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम् १९ हजार एक सय २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपाली नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुुपर्ने छ ।  आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा असोज २ गते र ढिलोमा असोज १७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने असोज २ गतेभित्र आवेदन दिनुपर्ने बताइएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update