नेपालमा लकडाउन पुनः लम्बिएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत्र ११ गतेदेखी जारी राखेको लकडाउन पटकपटक समय थप गर्दै वैशाख २५ गते पुर्याएको छ । लामो समयदेखिको लकडाउनका कारण दैनिक मजदुरी गरी साँझ विहानको जोहो गर्ने मजदुर वर्ग समस्यामा परेका छन् । मुलुको आर्थिक अवस्थामा समेत गम्भीर समस्या आउन सक्ने देखिएको छ । यस्तो अवस्थामा सरकारले देशको समग्र आर्थिक अवस्थालाई मजबुत बनाई राख्न आवश्यक उपायको खोजी गरी सोही अनुसारका रणनीति तत्काल ल्याउनुपर्छ । यसका साथै, अत्यन्तै समस्यामा परेका नागरिकका लागि राहत वितरण गर्ने कार्यलाई निरन्तरता दिनुपर्छ । यो समय घरमा बस्ने समय हो तर घरमा बसेर पनि गर्न सकिने काम धेरै छन् ।
एउटै समुदायमा केही खाद्यान्न सञ्चित भएका परिवार पनि हुन्छन् । केही नभएका बेसाएर खानुपर्ने अवस्थाका पनि हुन्छन् । आफ्नो घरमा छ र छिमेकीलाई संकट परिरहेको छ भने सहयोग गरौँ । संकटमा सहयोगी नहुने छिमेकी छिमेकी हुन सक्दैनन् । स्थानीय सरकारले अहिले राहत वितरणमा कठिनाई आएको र राहत नै बाँड्न नसकेको खबर पनि आइरहेका छन् । स्थानीय तहले बाँड्ने राहत पनि विवाद रहित छैन । आफूलाई लामो समय पुग्ने खाद्यान्न भएकाले पनि राहतका लागि नाम टिपाएका र सबैलाई दिनुपर्छ भनेर अड्डी कसेका खबर सार्वजनिक भइरहेका छन् । खासमा राहत छाक टार्नै समस्या परेकालाई मध्यनजर गरी ल्याइएको हो ।
त्यसैले विपन्न, गरिब र दैनिक ज्यालादारी गर्ने मजदुरका लागि ल्याइएको राहत योजना माथि हुने खानेले पनि आँखा गाड्नु सर्वथा गलत हो । जुन हाम्रो संस्कारलाई सुहाउने कार्य पटक्कै हुन सक्दैन । यस्तो बेला हुनेले नहुनेलाई सहयोग गर्ने हो । विपन्नलाई सहयोग गर्नुपर्ने ठाउँमा उल्टो अरुले पनि नपाउने गरी समस्या खडा गर्नु उचित हैन । आवश्यक नपरेकाले सरकारी खाद्यान्न सहायताको लोभै गर्नु हुँदैन । यसर्थ संकटमा परेकाहरुका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोगी हातहरु फैलाउन जरुरी छ ।