Shittalpati
पाल्पा जोर्ते दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो  (अपडेट)

पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका –२ जोर्तेमा  ढुंगासहितको सुख्खा पहिरोले स्कार्पियो च्यापिदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । आज विहान तानसेन–तम्घास सहायक राजमार्गको पाल्पाको जोर्तेमा ढुङ्गासहित खसेको पहिरोले रुरु रेसुङ्गा यातायात प्रा.लि.को  लु १ ज ४६०० नम्वरको स्कार्पियो गाडी च्यापिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । तीनै जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु  हुनेमा रेसुङा नगरपालिका –७ भुजेलखर्ककी ५० वर्षीया मनकला चुदारा, तानसेन नगरपालिका – ११ कुरुङखोला घर भई हाल गुल्मीमा कार्यरत प्रहरी सहायक हवल्दार ४२ वर्षीय  यम बहादुर बोहोरा र पोखरा उपमहानगरपालिका – २४ हेम्जाका ३० वर्षिय विनोद तिमिल्सेना रहेका छन्  । 

दुर्घटनामा ७ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिए । घाइते हुनेहरुमा गुल्मीको रेसुङ्गा नगरपालिका– ८ खानीगाउँकी ४०  वर्षीया शोभा घर्ती मगर, सोही ठाउँकी ३७ वर्षीया सुस्मा राना, उनको छोरीहरु ६ वर्षीया सुरबी राना, ५ महिनाकी सुबिया राना,  सोही ठाउँका ४५ वर्षीय टेक बहादुर जि.एम., २७  वर्षीया स्विकृती थापा र उनको छोरा ५ वर्षीय सुरेन थापा रहेका छन् । उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।  चालक रेसुङ्गा नगरपालिका– ८ खानीगाउँका ३६  वर्षीय बालकृष्ण श्रेष्ठ भने सकुसल रहेका छन् । तम्घासबाट बुटवलतर्फ जाँदै गरेको स्कार्पियोलाई विहान  सवा ८ बजेको समयमा पाल्पाको जोर्तेस्थित पाल्पा–गुल्मी सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहितको पहिरो खसेर लागेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update