पाल्पा, कोभिड–१९ आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ परियोजनाको तानसेनमा समीक्षा गरिएको छ । कारितास नेपाल फिल्ड कार्यालय पाल्पाले जिल्लाका विभिन्न स्थानीय तहमा गरेका आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ सम्बन्धी कार्यहरुको जिल्लाका सरोकारवाला निकायहरुबिच समीक्षा गोष्ठी गरिएको हो ।
कार्यक्रममा कारितास नेपाल पाल्पाका परियोजना संयोजक हरिससिहं कुंवरले अक्टुवर २०२१ देखि सञ्चालन भएका कार्यक्रमहरुको उपलब्धी, स्थानीय सरकार र अन्य सरकारी निकायहरुसँग गरिएको सहकार्यका विषयमा जानकारी गराएका थिए । उनले जिल्लाका तीन वटा स्थानीय तह तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका र बगनासकाली गाउँपालिकामा परियोजना सञ्चालन गरिएको बताए । उनका अनुसार परियोजना अन्तर्गत कृषितर्फ अदुवा खेती र विपद् व्यवस्थानमा काम गरिएको छ । स्थानीय सरकारको समन्वयमा कोभिडबाट पारेको नकारात्मक आर्थिक प्रभावलाई कम गर्न र आम्दानी बढाउन व्यवसायिक अदुवा खेतीमा उल्लेखीय रुपमा काम गरेको संयोजक कुंवरले बताए । व्यवसायिक अदुवा खेतीमा ६ सय जना किसान लाभान्वित भएको उनले बताए । संयोजक कुंवरले भने ‘हामीले किसानहरुका लागि तालिम, विउ, कृषि सामाग्री,बजारीकरण, अनुदान जस्ता कुराहरुमा सहयोग गरेका छौं ।’ कारितासले कोभिड महामारीमा तानसेनका ६ र ८ वडामा विपन्न परिवारलाई खाद्यान्न, ६४ जना साना व्यवसायीलाई आर्थिक सहयोग, २४ स्वास्थ्य संस्था र सार्वजनिक स्थानहरुमा हात धुने स्टेशन निर्माण, क्वारेन्टाईनमा बसेकाहरुलाई स्वास्थ्य सामाग्री दिएको परियोजना संयोजक कुंवरले बताए । उनका अनुसार कोभिडको दोस्रो चरणमा तानसेन, रिब्दीकोट, बगनासकाली र मिसन अस्पतालाई ३१ लाख बराबरको स्वास्थ्य सामाग्री, रिब्दीकोट र बगनासकालीका ११ स्थानमा हात धुने स्टेशन निर्माण, तीनवटै स्थानीय तहका कोभिड खोप स्थलमा डस्टविन वितरण, स्वास्थ्य महिला स्वयमसेवीहरुलाई स्वस्थ्य किट वितरण गरिएको थियो ।
यस्तै परियोजना लागु हुनु अघि अदुवाबाट प्रति किसानले ४ हजार ३ सय ८९ आम्दानी गर्ने गरेकोमा परियोजनाको अन्तिममा आएर प्रति किसान १७ हजार २ सय ६४ पुगेको परियोजना संयोजक कुंवरले जानकारी गराए । उनका अनुसार साउन मसान्तसम्म १ सय ९६ जना किसानले ९ हजार ३ सय ६५ केजी बूढी अदुवा विक्रीबाट १६ लाख ८ सय ५० आम्दानी गरेका छन् । कार्यक्रममा किसान लेखनाथ न्यौपाने, दिलबहादुर राना, गोपाल बस्यालले आफुहरु विदेशबाट फर्किएर अहिले व्यवसायिक अदुवा खेतीमा लागेको बताए । उनीहरुले कालितासले आफुहरुलाई सहयोग गरेकै कारण व्यवसायिक खेतीबाट राम्रो आम्दानी गर्न सफल भएको बताए । गोष्ठीमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले कारितासले विपन्न र कोभिडबाट प्रभावित नागरिकहरुका क्षेत्रमा गरेको कार्यक्रम प्रशंसनिय रहेको बताए । उनले स्थानीय सरकारले पनि लक्षित वर्ग मैत्री कार्यक्रम गर्ने दिशामा ध्यान दिन आग्रह गरे ।
बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले सम्बन्धित क्षेत्रका नागरिकलाई आयआर्जन र स्वरोजगार बनाउने कुरामा परियोजनाले महत्वपूर्ण भूमिका खेलेको बताइन् । पालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउनका लागि विभिन्न संघ संस्थाको सहकार्य र स्थानीय सरकार आफैले पनि कृषकहरुलाई अनुदान, विउविजनदेखि प्राविधिक सहयोग गर्दै आएको बताइन् । तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले कारितास र सि आर एस नेपालले जुन किसिमको कार्यक्रम सञ्चालन गरेका छन् ति उपलब्धी मूलक नै रहेको धारणा व्यक्त गरिन् । उनले परियोजनाले कम बजेटमा पनि प्रभावकारी काम गर्न सफल भएको बताइन् । रिब्दीकोट गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले पालिकाका किसान परियोजनाबाट अत्यन्त लाभन्वित भएको बताइन् । उनले भनिन् ‘अहिले अदुवा विक्रीबाटै किसानले २० हजारदेखि ५० हजारसम्म आम्दानी गर्न थालेका छन् ।’ प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कृषि र विपद्का क्षेत्रमा गरेका कार्यक्रमले राम्रै प्रभाव पारेको बताए । उनले लगानी गर्ने तर त्यसको उत्पादन भए नभएको अनुगमन गर्ने संयन्त्र नै कमजोर रहने गरेको धारणा व्यक्त गरे । प्रजिअ बास्तोलाले कृषकको खल्तीमा कसरी पैसा जान्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको आवश्यकता रहेको औल्याए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारी, नेपाल रेडक्रस पाल्पाका सभापति बाबुराम कार्की, तानसेन –६ का वडा अध्यक्ष सागमरमान महर्जन, रिब्दीकोट गाउँपालिका–७ का वडा अध्यक्ष दानबहादुर कुंवर, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, सि आर एस नेपालका कार्यक्रम अधिकृत विवेक श्रेष्ठ लगायतले परियोजनाले लक्षित वर्गलाई समेटेर उपलब्धीमूलक काम गरेको बताए । कारितास नेपालका केन्द्रीय कार्यक्रम संयोजक मञ्जुल शेरचनको अध्यक्षता, फिल्ड पाल्पाकी कार्यक्रम अधिकृत सविना पराजुलीको स्वागत, कृषि अधिकृत जया उपाध्यायको सञ्चालनमा कार्यक्रम भएको थियो ।