Shittalpati
पाल्पा मै पहिलो पटक नयाँ प्रविधि सहितको प्रिकाष्ट उद्योग सञ्चालनमा

पाल्पा (रामपुर), जिल्लाको रामपुर नगरपालिका ६ तालपोखरामा उच्च प्रविधिको प्रयोग सहितको प्रिकाष्ट उद्योग सञ्चालनमा आएको छ । रामपुर नगरपालिकासंगै गण्डकी बेसी क्षेत्रमा बढ्दो विकासका पूर्वाधार निर्माणलाई मध्यनजर गर्दै व्यक्तिगत लगानीमा जिल्लामै पहिलो उद्योग सञ्चालनमा आएको हो ।

रामपुर नगरपालिका ६ का सागरप्रसाद देवकोटाले नयाँ प्रविधि सहितको तालपोखरा प्रिकाष्ट एण्ड जाली उद्योग सञ्चालनमा ल्याएका हुन । देवकोटाले पहिलो चरणमा हाल सडकको नाली व्यवस्थापनका लागि आवश्यक ह्युम पाईप बनाउन सुरुवात गरेका छन् । यस अघि जिल्लामा प्रिकाष्ट उद्योगहरु सञ्चालन हुँदै आए पनि उनले पहिलो पटक नयाँ प्रविधि सहितको उद्योग सञ्चालनमा ल्याएका हुन् । देवकोटाले पछिल्लो समय रामपुरसंगै गण्डकी बेशी क्षेत्रमा ठूला तथा साना पूर्वाधार निर्माण भैइरहे पनि स्तरीय सामग्रीका लागि बुटवलबाट आयात गर्नुपर्ने र ढुवानी बढी लाग्ने भएकाले सहजताको लागि उद्योग सञ्चालन गरिएको बताए । उद्योगमा अहिले साढे २ मिटर लामो ३०, ४५, ६०, ९० सेमी गोलाईको ह्युम पाईप निर्माण सुरु भएको छ ।

देवकोटाले पहिलो चरणमा ५० लाखको लागतमा उद्योग सञ्चालन गरिएको र अब छिट्टै नै जाली उत्पादन, पार्किङ्ग टायल, इनारको लागि रिङ्ग, ब्लकहरु पनि उत्पादन सुरु गरिने बताए । उनले ८ जनालाई अहिले रोजगारी दिन सुरु गरेका छन् । उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपछि २५/३० जनालाई रोजगारी सिर्जना हुने बताए । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले गण्डकी बेशी क्षेत्रमा निर्माण भइरहेको पालिकास्तरीय, क्षेत्रियस्तर र राष्ट्रियस्तरको सडकका लागि आवश्यक सामग्री महंगो भाडा तिरेर ल्याउनुपर्दा समस्या भएकोमा यसले सहजता ल्याउने बताए ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update