Shittalpati
प्रेस युनियन पाल्पाले भन्यो ‘सदस्य ज्ञवालीप्रति धम्की दिनेलाई कानुनी दायरामा ल्याऊ’

पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाले कार्यसमिति सदस्य प्रकाश ज्ञवालीप्रति धम्की दिनेलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । युनियनले शुक्रबार एक विज्ञप्ति निकाली सामाजिक सञ्जालमा गालीगलौज गर्ने, अपशब्द लेखेर धम्की दिएको घटना प्रति ध्यानाकर्षण भएको जनाउँदै धम्की दिनेलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको हो ।

ज्ञवालीलाई रामपुर नगरपालिका–४ का व्यवसायी प्रितम केसीले आफ्नो फेसबुक आईडिबाट म्यासेञ्जरमा अनावश्यक धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । पत्रकारले लेख्ने समाचारका विषयमा कसैको केही गुनासो भएमा वा चित्त नबुझेमा कानुनी उपचारमा जान सकिने व्यवस्था रहेको भन्दै युनियनले त्यसो नगरेर अनावश्यक धम्की दिने कार्य गलत भएको बताएको छ ।  

‘समाचारका विषयलाई लिएर पत्रकारलाई धाकधम्की दिने, गालीगलौज गर्ने कार्य तत्काल रोक्न प्रेस युनियन पाल्पा शाखा सम्बन्धित पक्षलाई सचेत गराउँदै धम्की दिनेलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष हार्दिक आग्रह गर्दछ’ अध्यक्ष मन गहिरे र सचिव विष्णु प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा अनावश्यक सन्देश लेख्ने र अपशब्द प्रयोग गर्दै अनावश्यक लाञ्छना लगाई धम्की दिएको घटनाले आफुलाई आक्रान्त बनाएको भन्दै पत्रकार ज्ञवालीले प्रेस युनियन समक्ष सहयोगको मागेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update