Shittalpati
तानसेन–रिडी सडक दिउँसोमा पनि बन्द

पाल्पा, पाल्पाको तानसेन हुँदै गुल्मीको रिडी जाने सडक दिउँसोमा पनि बन्द भएको छ । रातीमा ६ घण्टा बन्द हुँदै आएको सडक  शुक्रबारदेखि दिउँसोमा पनि बन्द भएको हो । तानसेन–रिडी सडक खण्डको जोर्तो माथिको उकालोमा सुख्खा पहिरोसहित ढुँगा खसेपछि सडक जोखिममा रहेकाले ढुंगा पन्छाउन सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।  

बुधबार सोही ठाउँमा ढुंगा सहितको सुख्खा पहिरो गुडिरहेको स्कार्पियोमाथि खसेपछि तीन जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । सडक माथि अझै केही ढुगाहरु खस्न सक्ने अवस्थामा रहेकाले ति ढुंगा हटाउनका लागि सडक बन्द गर्नु परेको सडक डिभिजन प्रमुख प्रदिपमणी निरौलाले जानकारी दिए । उनले भने‘ सुुख्खा पहिरो खसिरहेकाले जोखिम मोलेर यात्रा गर्नु भन्दा केही समय बाटो बन्द गरेरै भए पनि जोखिम हटाउन लागेका हौं ।’

शुक्रबार र शनिबार पूर्ण रुपमा सडक बन्द गरेर काम थालिएको सडक कार्यालयका इन्जिनियर सागर पोखेरलले बताए । सडक बन्द अवधिभर वैकल्पिक रुपमा रानीमहलको सडक प्रयोग गर्न सकिने उनले बताए । तानसेन–रिडी सडक खण्डको लघुवादेखि जोर्तेसम्मको सडक चौंडा गर्ने काम भइरहेको छ । सडक कार्यालयले साउन २७ गतेलेखि उक्त सडक खण्ड स्तरोन्नती तथा मर्मत गर्नका लागि भन्दै २५ दिनसम्म सडक बन्द गरेर काम गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update