Shittalpati
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पामा स्नेहमिलन तथा रक्षाबन्धन

पाल्पा, शान्ति, योगा, ध्यान जस्ता विषयमा ज्ञान प्रदान गर्दै आएको ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रिय कार्यालय पाल्पामा स्नेहमिलन तथा रक्षाबन्धन कार्यक्रम गरिएको छ । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसर पारेर यहाँ स्नेहमिलन तथा रक्षाबन्धन कार्यक्रम गरिएको हो ।

 रक्षाबन्धनको महत्व र दाजुभाइ दिदी बहिनीहरुबिचको सम्बन्धलाई थप मजबूत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका सचिव ब्रहमाकुमार भानुप्रकाश पौडेलले बताए । कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई सकारात्मक सन्देशका साथ रक्षा सुत्र (राखी) तथा प्रसाद वितरण गरिएको थियो । सोही अवसरमा कार्यालयका सचिव पौडेल र ब्रह्माकुमारी जानकी बहिनीले प्रवचनसँगै  रक्षाबन्धन पर्वको समाजिक तथा आध्यात्मिक विशेषताका बारेमा जानकारी गराएका थिए । सचिव पौडेलले आधुनिक समाजमा आफ्नै दानवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्वका रुपमा रक्षा बन्धनलाई लिने बताए । उनले भने ‘हामी पथभ्रष्ट भएर गएका छौं । कुविचार, कुसंस्कार, कुदृष्टिले हामीलाई दानव बनाइरहेको छ । तामासिक खानपान, रहनसहनले हामी आफैलाई नष्ट गर्दैछ । यसरी आफ्नै खराब प्रवृत्तिमाथि नियन्त्रण राख्नका लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षाबन्धन बाँध्ने चलन चलाइएको हो ।’ रक्षाबन्धन बाँधेपछि मन, बचन र कर्मलाई पनि पवित्र बनाउने उनले बताए ।

पौडेलले यो आत्मअनुशासनको एउटा विधी रहेको समेत बताए । सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसरका रुपमा यो पर्वलाई लिइने गरिएको उनको भनाई छ । पौडेलले भने ‘रक्षाबन्धन यस्तो सांकेतिक बन्धन हो, जसले हामीलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ ।’ स्नेहमिलन तथा रक्षाबन्धन कार्यक्रम सहभागी हुन राजनीतिक दल, शैक्षिक, सामाजिक क्षेत्रका उच्चपदस्थ व्यक्तिहरु त्यहाँ पुगेका थिए । कार्यक्रममा सहभागी हुन पुगेका लुम्बिनी प्रदेश सांसद् एवं पूर्वमन्त्री वीरबहादुर रानाले समाजमा मानविय मूल्यमान्यताको विकास गरी सकारात्मक संकल्प र कर्मबाट नै अपराधिक तथा नकारात्मक धारणा र व्यवहार त्याग्न सकिने बताए । उनले सकारात्मक सोंचबाट नै जीवनको सार्थकता प्राप्त गर्न सकिने भएकाले राजयोग, साधना र दिव्य प्रवचन सुन्न सबैलाई आग्रह गरे । पूर्व सांसद डा. पुरनमान बज्राचार्यले ईश्वरीय विश्वविद्यालयले स्नेहमिलन र रक्षाबन्धन कार्यक्रम आयोजना गरेर पर्व र दाजुभाइ दिदीबहीनीहरुको सम्बन्धलाई थप नजिक बनाउने काम गरेकोमा खुसी व्यक्त गरे ।  

कार्यक्रममा पूर्व क्याम्पस प्रमुख तथा पशुपति विकाश कोषका कोषाध्क्षय ज्ञानबहादुर हमाल, तानसेन नगरपालिकाका प्रतिनिधि रामजी कार्की, ज्योति विकास बैंकका सह–प्रबन्धक रेनु केशी लगायतले शुभकामना व्यक्त गरेका । कार्यलय प्रमुख ब्रहमाकुमारी प्रेमा दिदीको अध्यक्षता, ब्रÞमाकुमार कृष्णबहादुर गाहाको सञ्चालनमा कार्यक्रम भएको थियो । सोही दिन कार्यालयले जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको व्यारेकमा पनि पुगेर प्रवचन तथा रक्षाबन्धन कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update