जात्रैजात्राको सहरका रुपमा परिचित तानसेनमा यति बेला जात्राहरु विस्तारै हराउँदै गएका छन् । विगतमा निकै हर्षोल्लासका साथ तानसेनका टोल–टोलबाट निकालिने चुइकी फिराई, लाखे नाच, गाईजात्रा, रोपाइँ जात्रा एकदुई वटामा सीमित भएका छन् । विगतका वर्षहरूमा जात्रा हेर्न तानसेन बजार भीडभाड हुने गरेपनि यस वर्षको गाईजात्रा र रोपाँइ जात्रा गर्ने र हेर्ने मानिस नै नहुँदा सडकहरू सुनसान देखिए । नेवार समुदायले आफ्ना दिवंगत परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहेको छ । काठमाडौंपछि नेवार समुदायको बढी बसोबास भएको तानसेनमा गाईजात्रा मनाउने गरिए पनि पछिल्ला वर्षाहरुमा हराउँदै गएका छन् ।
यहाँ जनैपूर्णिमाका दिनदेखि लगातार १० दिनसम्म जात्रा निकाल्ने गरिन्छ । भगवती रथ यात्रा, चुइँकीे फिराई, गाइ जात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, सिद्धि विनायक गणेश जात्रा, सूर्यविनायक गणेश जात्रा, भिमसेन जात्रा, कृष्ण जात्रा, नारायण जात्रा, कालभैरव, बटुक भैरव, लक्ष्मी नारायण, हनुमान जात्राका साथै बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीको अवसरमा निकाल्ने बुद्ध जात्रा यहाँका विशेष जात्रा हुन । तर आधुनिक प्रविधिको प्रयोग र व्यापकताका कारण यी जात्राहरु ओझेलमा पर्दै गइरहेका छन् । कलासंस्कृतिको महत्व नयाँ पुस्ताले बुझ्न नसक्दा र स्थानीय सरकारले समेत यस्ता संस्कृतिको संरक्षणमा चासो नदिदा यहाँका मौलिक जाात्रा हराउने अवस्थामा पुुगेका हुन् । जात्रा हराउन थोपछि पुरानो पुस्ता चिन्ति बनेका छन् । पुराना पुस्ताले संस्कृति धान्दै आए पनि नयाँ पुस्तामा जात्रा प्रति खासै आकर्षण छैन, जसका कारण यो जात्रा संरक्षण गर्न चुनौती बढेको हो । मौलिक संस्कृति लोप हुँदै जानु भनेको राष्ट्रको पहिचान हराउँदै जानु हो । यो चिन्ताको विषय हो । जात्रा निकाल्नका लागि खर्चिलो हुुने भएकाले पनि यसको संरक्षणमा चुुनौति देखिएको छ । यसलाई स्वाभाविक रुपमा मानिए पनि राष्ट्रको गरिमालाई भने यसले कायम राख्न सक्दैन । स्थानीय जात्रा, पर्वहरुको संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको समेत हो, तर यसतर्फ सरकारले ध्यान नदिनुुु दुखद् हो । तानसेनको कला, संस्कृति र जात्रा पर्वको संरक्षणमा तानसेन नगर सरकारले ध्यान दिन आवश्यक छ । हैन भने तानसेनको इतिहास इतिहासमै सिमित बन्ने निश्चित छ ।