Shittalpati
व्यवसायीको दुखेसो : ‘दोहोरो कर नीतिले समस्यामा पर्‍यौं’ 

पाल्पा, नेपालमा सरकारको दोहोरो नीति र राजनीतिक अस्थिरताका कारण जहिल्यै उद्योगी–व्यवसायी मारमा पर्ने गरेको गुनासो छ । प्राकृतिक विपद्, महामारी र राजनीतिक अस्थिरताका कारण व्यवसाय तहसनहस भइरहँदा दोहोरो कर नीतिले झन आफुहरु समस्यामा परेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।

स्थानीय, प्रदेश र संघीय सरकारबाट उठ्ने करमा अझै पनि दोहोरोपन रहेको छ । खासगरी स्थानीय उत्पादनमा दोहोरो कर लागेको र कतिपय ठाउँमा कर उठाउने क्षेत्राधिकार समेत मिच्ने गरेका कारण व्यवसायी मर्कामा परेका हुन् । कतिपय विषय प्रदेशको एकल अधिकार हुने र कतिपय विषय स्थानीय तहको एकल अधिकार हुने भनिएपनि कसको क्षेत्राधिकार के हो ? यस विषयमा तीनै तहका सरकार अझै पनि स्पष्ट हुन नसक्दा त्यसको मार व्यवसायीले खेप्नु परेको हो । पाल्पा रामपुरका उद्योगी तथा व्यवसायीहरुले सरकारको दोहोरो कर नीतिका कारण आफुहरु समस्यामा परेको बताएका हुन् । व्यवसायी र जनप्रतिनिधि बिचको भएको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले दोहोरो करले समस्यामा परेको गुनासो गरेका छन् । राज्यलाई कर कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा नगरपालिका सबै तिर राजस्व तिर्नु पर्ने नीतिले आफुहरु थप मारमा परेको व्यवसायीहरुले बताएका छन् ।

उनीहरुले बजार क्षेत्रको भाडादर उच्च हुँदा समस्या भएको, पोके व्यापारीका कारण सटर भाडाका व्यवसायी थप मर्कामा परेको, सवारी व्यवस्थापन, व्यवसायको प्रकृति अनुसारको कारोबार नहुनु, पेटीमा सामान राख्न पाउनु पर्ने, जिल्ला दररेट, फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय, खानेपानी महसुल, रामपुर अस्पतालको व्यवस्थापन, सडकको अवस्था सुधार गर्नु पर्ने, अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने लगायतका माग तीनै तहका सरकारसँग गरेका छन् । व्यवसायीहरुको गुनासोलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद राजुप्रसाद श्रेष्ठले रामपुर नगर क्षेत्रको बजारलाई व्यवस्थित गर्न प्रदेश सरकारले आवश्यक काम थालेको बताए । करको दर बढाउने नभई दायरा बढाउनु आवश्यक रहेको उनको भनाई छ । उनले राजस्व संकलन गर्दा व्यवसायीहरुसँग समन्वय गरेर अघि बढ्न नगर सरकारलाई आग्रह गरे । 

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बजारलाई व्यवस्थित बनाउन सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । उनले सकारात्मक सुझाव र सहयोगका लागि उद्योगी व्यवसायीसँग माग गरे । उनले नगरको मुख्य बजार बेझाँड क्षेत्रको स्तरोन्नतिको लागि प्रक्रिया अघि बढेको जानकारी दिदै सीसीटिभी, लाईटको व्यवस्थापनसँगै फोहोरको दीर्घकालिन समस्या समाधानको प्रयत्न भैरहेको बताए । उपप्रमुख बालकुमारी थापाले स्थानीय तहको विकासका लागि स्रोत जुटाउन व्यवसायीलाई मर्का नपर्ने गरी करको दायरामा ल्याउन पहल गरेको बताइन् । उनले नगरपालिकाले न्यून दरमा मात्र कर संकलन गरेको बताइन् ।

कोरोना तथा आर्थिक मन्दीले व्यवसायीहरुलाई परेकोे समस्यालाई मध्यनजर गर्दै दुई वर्ष नगरपालिकाले राजस्वमा छुट दिएको र यस वर्ष पनि समयमै नविकरण गर्ने व्यवसायीहरुलाई छुट दिईएको जानकारी दिइन् । इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख शालिकराम खनालले व्यवसायीको पूर्ण सुरक्षाको लागि प्रहरी प्रतिवद्ध भएर लागेको बताउँदै प्रहरीलाई सुचना दिएर सहयोग गर्न आग्रह गरे । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले व्यवसायीहरुको समस्या पहिचानका लागि संघले कार्यक्रम आयोजना गरेको बताए । रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा भएको कार्यक्रम संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठको स्वागत र महासचिव खिम बहादुर केसीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update