Shittalpati
कृषि उत्पादनमा गम्भीर बन

मुलुकलाई कृषिप्रधान देश भन्छौं तर, हरेक वर्ष आयातको ग्राफ बढ्दै गएको छ । वर्षमा अर्बौैसम्मको खाद्यान्न आयात गर्नु मुलुकको लागि कदापि राम्रो हुन सक्दैन । यसका अलवा दलहन, तेल, तरकारी, माछा, मासुको आयात निरन्तर बढिरहेको देखिन्छ । एक वर्षमा अर्बौको कृषि उपज आयात हुनु हितकर छैन । आयात प्रतिस्थानका लागि नीति ल्याउनुपर्छ तर सरकारको त्यसतर्फ ध्यानै छैन । यस वर्ष झन सतप्रतिशत रोपाइँ हुन सकेन । अब रोपाइँको समय सकिइसकेको छ । पानी नभएकाले तथा अन्य कारणले गर्दा यस वर्ष सात प्रतिशतले धान रोपाइँ घटेको तथ्यांक छ । यो घटेको प्रतिशत निकै नै ठूलो मात्रा हो । यसले गर्दा आगामी वर्ष हामीले बाहिरबाट आयात गर्ने खाद्यान्नमा वृद्धि गर्नुपर्ने हुन्छ । हामी त्यसै पनि आयात नै गर्दै आएकै छौं । यस्तो अवस्थामा धान रोपाँइ घट्दै गएकाले थप चिन्तित बनाएको छ । 

खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने मुलुकले जुनसुकै बेला भोकमरीको सामना गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । कृषिका लागि आवश्यक पर्ने औजारदेखि मल, बिउ, रासायनिक विषादीलगायत कुरा विदेशबाटै झिकाएर प्रयोग गर्नुपर्ने र त्यति गर्दा कृषिउपज अपुग भएर विदेशबाटै आयात गर्नुपर्ने अवस्था विडम्बनै हो । त्यसमाथि प्रकृति पनि प्रतिकूल बनीदिनाले कृषि हाम्रा लागि सहज बन्न सकेको छैन । विभिन्न कारणले गर्दा युवा पुस्ता कृषिबाट पलायन बन्दै गइरहेको छ । वैदेशिक रोजगार र शहरमुखी प्रवृत्तिले गर्दा गाउँघर उजाडिँदै गएका छन् र गाउँका खेतबारी बाँझै रहन थालेका छन् । कृषिमा रमाउनुपर्ने युवा कुण्ठा, आक्रोश र पीडाको भारी बोकेर विदेशमा रगत–पसिनासँग पैसा साट्न विवश छ । कुल गार्हस्थ्य उत्पादनको ठूलो हिस्सा ओगटेको विप्रेषण नेपालको आम्दानीको प्रमुख स्रोत बनेको छ । यो हदसम्मको परनिर्भर अर्थतन्त्रमा उभिएर ‘समृद्ध नेपाल र सुखी नेपाली’को बखान गर्नु हास्यास्पद छ । कृषि अर्थतन्त्र धराशायी भएसँगै मुलुक आर्थिक संकटमा फस्दै छ । यस्तो अवस्थामा सरकार गम्भीर नबन्ने हो भने देशले ठूूलो संकट व्यहोर्नुपर्ने हुुन सक्छ । यसर्थ यसतर्फ सरकारले कृषि उत्पादनमा ध्यान दिदंै आयातलाई रोक्ने दिशामा साेंच्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update