Shittalpati
मोहन कन्याको यात्रा ७४ वर्षमा

पाल्पा, पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालय ७४ वर्षको यात्रामा प्रवेश गरेको छ । कन्याहरुलाई व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी स्थापना भएको स्कूलले ७४ वर्षको बुढ्यौली यात्रा तय गरेको हो ।

नेपाली समाजमा छोरीहरुलाई शिक्षा प्राप्त गर्न कठिन र चुनौती रहेका बेला २००७ सालमा विद्यालयले कन्याहरुका लागि छुट्टै छात्रावासको व्यवस्था गरी अध्ययन, अध्यापन गराउँदै आएको छ । यो यात्रामा विद्यालयले आफुलाई नेपालकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । त्यसबेला धेरैले विश्वास नगरेको विषय थियो पाल्पामा कन्याहरुका लागि स्थापित स्कुल ७४ वर्षसम्म खडा हुनेछ तर धेरैको आकलनलाई गलत सावित गर्दै मोहन कन्याले आफ्नो ७३ वर्षे यात्रा पार गर्न सफल भएको छ ।

पश्चिम क्षेत्रमै तल्कालिन समयमा पढ्न चाहने छोरीहरुका लागि छुट्टै विद्यालयहरु थिएनन् । निजी र सामुदायिक शैक्षिक संस्थाका रुपमा सीमित स्कुलहरु त खुलेका थिए, तर तिनले  छोरीहरुलाई शिक्षाको पहुँचमा ल्याउन सकेका थिएनन् । त्यही परिवेशमा २००७ सालमा स्थापना भएको मोहन कन्यालाई कन्याहरुका लागि शैक्षिक विकासको आधारशिला मान्न सकिन्छ । स्कूलतहदेखि कक्षा ११/१२ मा शिक्षा, व्यवस्थापन र कम्प्युटर इञ्जिनियरिङ्ग संकायको शैक्षिक कार्यक्रम विकासमा यस स्कुलको ठूलो योगदान रह्यो । सात दशक लामो यात्रामा मोहन कन्याले विद्यार्थीहरुलाई छात्रावासको व्यवस्थासँगै प्राविधिक शिक्षा पढ्न चाहानेका लागि वातावरण समेत सिर्जना गरिदिएको छ । सरकारीस्तरबाट होस् वा राजनीतिक स्तरबाट नै किन नहोस् उपेक्षामा परेका कयौं शैक्षिक संस्थाहरु धरासयी हुँदै गएको अवस्थामा मोहन कन्याले ७३ औं वार्षिक उत्सव मनाउनुलाई कम आकलन गर्न सकिदैन । वार्षिक उत्सव समारोहको अवसरमा आयोजित कार्यक्रममा समेत स्कूलको ७४ वर्षे यात्राको मुक्तकण्ठले प्रशंसा गरिएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती (बसन्त) ले सामुदायिक तवरबाट सञ्चालन भएको स्कूलले जिल्लाको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले ७४ वर्षे लामो यात्रा तय गर्नु स्कूलका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सक्नु नै महत्वपूर्ण रहेको उल्लेख गरे । सभामुख घर्तीले अब प्रदेशकै प्राविधिक कन्या विद्यालयको रुपमा विकास गर्ने कुरामा आफुले आवश्यक पहल गर्ने बताए । उनले स्कुलले सञ्चालन गरेको छात्रावासको व्यवस्थापनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधानप्रसाद श्रेष्ठले भावी योजना प्रस्तुत गर्दै पढ्दै कमाउँदै कार्यक्रम लागु गर्ने, छात्राबासको विस्तार, कक्षा १ देखि १२ सम्म कम्प्युटर शिक्षासहित नारीहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना अगाडि सारेको बताए ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवम् नेपाली काँग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरेले विद्यालयको छात्राबास विस्तार गरी लुम्बिनी प्रदेशका सबै जिल्लाबाट छात्राहरुलाई भर्ना गरी प्राविधिक सिपयुक्त बनाउनुपर्नेमा जोड दिए । विद्यालयका प्रधानाध्यापक दीपकप्रसाद ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दुई करोढ ५७ लाखको आयब्यय पेश गरे । उनले सबैको सहयोग र साथका कारण नै स्कुलले ७३ वर्ष मनाउन सफल भएको भन्दै सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा नेकपा  समाजवादी पाल्पाका सचिव  जगन्नाथ नेपाल, विद्यालयका पूर्व सचिव शोभा शाक्य, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बश्याल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, न्यू होराइजनका प्रिन्सिपल डासुराम पन्त, तानसेन –४ का कार्यवाक वडा अध्यक्ष हरि थापा, शिक्षकहरु चेल प्रसाद ज्ञवाली, गोपालप्रसाद बश्याल, कक्षा १२ का छात्रा वर्षा तिमिल्सीना लगायतले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै आ–आफ्ना  धारणा राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधानप्रसाद श्रेष्ठको अध्यक्षता, शिक्षक रिना श्रेष्ठको सञ्चालनमा समापन कार्यक्रम भएको थियो । भदौं ८ गतेदेखि विभिन्न सांस्कृतिक, खेलकूद, नगरस्तरीय सामुदायिक माध्यमिक विद्यालयको छात्रा हाजिरी जवाफ जस्ता प्रतियोगिताहरु भएका थिए । सोही अवसरमा प्रधानाध्यापक दीपकप्रसाद ज्ञवाली र शिक्षक गोपालप्रसाद बश्याल दीर्घ सेवा सहित शिक्षकहरू चोल प्रसाद ज्ञवाली, रीना श्रेष्ठ, इन्दु खनाल, नारायण भण्डारी, टंक भुषाल, सन्दिप श्रेष्ठ, तिलकराम भण्डारी, विष्णु थापा, पूर्व शिक्षकहरू विष्णुप्रसाद पाण्डे, हरिष थापा, मधु सुदन भण्डारी, कमला शर्मा र कार्यालय सहायक रक्षा ज्ञवालीलाई सम्मान समेत गरिएको शिक्षिका मन गहिरेले जानकारी दिइन् । शैक्षिक धरोहरको रुपमा रहेको यस विद्यालयमा गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही लगायत जिल्लाका छात्रा (कन्या) हरु यस विद्यालयमा अध्ययन गर्ने गर्दछन् । अहिले विद्यालयमा ३ सय ३० जना छात्राहरु अध्ययन गर्दै आएका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update