Shittalpati
सबैमा चेतना भया...!

नेपालको राजनैतिक वृतमा अहिले अनियमितताको बाढी आएको आभास हुन्छ । नेता र दलीय रुपमा वर्चस्व कमाएका कतिपय जिम्मेवार व्यक्तिहरु र उनका परिवारले गरेका अनियमिताका कारण पनि अहिले, अब मुलुकमा केही कतैबाट पनि जनताका पक्षमा काम हुन नसकेका समस्याहरु दिनप्रति दिन उजागर हुँदै गएका छन् । त्यसकारण पनि जनताको चाहना र समस्याहरुको पहिचान हुन सकिरहेको छैन । नुनदेखि सुन काण्ड सम्मका अनियमितताले गर्दा देश आर्थिक रुपमा कमजोर हुँदै गएको आभास हुन थालेको छ । यसरी समस्याहरुको पहिचान नगरी, एक पछि अर्का पार्टीका ठूला नेताहरु अनियमितताका काण्डमा मुछिएका कारण राजनैतिक चरित्रमै नराम्रोसंग धक्का पुग्ने काम भएको आभास हुन थालेको छ । देशले अब इमानदार नेताको खोजी गरिरेहेको भएता पनि त्यस्तो खालको नेताले जिम्मेवारीका साथ काम गर्न पाएको देखिदैन ।

निजी क्षेत्र आफैमा दिन प्रतिदिन धराशाही अवस्थाबाट गुज्रिनुपर्ने बाध्यता देखिन्छ भने, राजनैतिक अराजकता र सरकारका जिम्मेवार निकायहरु जनता प्रति उत्तरदायी नभएको अवस्थाले आम नेपाली जनतालाई चिन्तित बनाएको छ । यी र यस्ता सबै खाले समस्याको समाधान र राजनैतिक दलहरुमा हुनुपर्ने जनदायित्ववोध नहँुदासम्म मुलुकले मुहार फेर्न सक्दैन र त्यसको सबै दोषारोपणको भार राजनैतिक दलहरुले बेहोर्ने बाहेक केही पनि हुन सक्दैन भन्ने कुरामा सम्बन्धित सबैको ध्यानाकर्षण होस् । यही नै आजको आवश्यकता हो । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update