Shittalpati
श्रीकृष्ण जन्माष्टमी र भगवती जात्रा

प्रत्येक वर्षको भाद्र कृष्ण अष्टमीमा भगवान् श्रीकृष्णलाई स्मरण गर्दै कृष्ण जन्माष्टमी मनाइन्छ । यस वर्ष बुधबार मनाइएको छ । श्रीकृष्ण भगवान् जन्मिएको अवसर पारेर उत्सवमा संलग्न रहँदै व्रत बसेर मध्यरातसम्म नै कृष्णकेन्द्रित भजनहरु गाउने, बजाउने परम्परा रहँदै आएको छ । मध्यरातसम्म नै जाग्राम बसी श्रीकृष्णको भक्ति–साधनामा लीन हुने स्त्री–पुरूषहरुले मन्दिरलाई सजाउँदै उनको झुला झुलाउने चलन परापूर्वकालदेखि रहँदै आएको छ । यो दिन विशेषतः भगवान् श्रीकृष्णकै पूजाआराधना गर्ने उद्देश्य बोकेर समर्पित छ । पवित्र दिनका रुपमा समेत लिइने यसदिनमा देशविदेशमा धुमधामसँग भगवान् कृष्णको स्मरण गरिएको पाइन्छ । श्रीकृष्णलाई महाभारतको युद्धमा मुख्य पात्रको रूपमा लिइन्छ । अत्यन्तै कूटनीति गर्न जान्ने श्रीकृष्णलाई धूर्त र छलीका रूपमा पनि नेवारी समाजमा लिइँदै आइएको छ । हरेक वर्ष कृष्णाष्टमीका दिन विभिन्न कार्यक्रम र जात्रा गरी मान्दै आएका श्रीकृष्णलाई द्वापर युगदेखि मान्दै आएको मानिन्छ । कृष्ण जन्माष्टमीको अर्को दिन पाल्पाको तानसेनमा रणउजेश्वरी भगवतीको जात्रा निकाल्ने गरिन्छ ।

नेपालले अंग्रेजलाई पराजय गरेको उल्लासमा यहाँ हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने परम्परा छ । सोही अनुरुप आज २ सय ३ औं भगवतीको रथ निकाल्न लागिएको हो । भगवतीले महिषासुर दैत्य बध गरेको खुसियालीको रूपमा राँगा, हाँस, कुखुरा, बोका, भेडा बलि दिँदै दाफा भजनका साथै रणउजेश्वरी देवीको भव्य रूपमा रातभर जात्रा गरिन्छ ।  नवमीका दिन रातभर दियो बोकेका, देवताको खट बोक्नेहरू र जात्रामा भाग लिई सघाउने सबैलाई भगवतीलाई भोग दिइएको राँगाको मासु राखी भोज खुवाइन्छ । भोज खुवाइसकेपछि देवीको खट बोक्नेहरूलाई बेताली (फेटा) बाँधी रातो क्वखा राखी दिँदै टीका लगाई दिएर दिनमा सिन्दुर जात्रा गर्ने चलन छ । यो जात्रामा नेपाली सेना प्रहरीले सलामी दिँदै तोप पडकाएर बधाई दिन्छन् । ढोलक, झ्याली, पञ्चेबाजा, धाः बाजा बजाउँदै नगर परिक्रमा गर्छन् । यो भगवतीको जात्रा अंग्रेजसँग भएको युद्वसँग सम्बन्धित छ । महाभारतको युद्वमा मुख्य पात्रको रूपमा रहेका श्रीकृष्णलाई लिइन्छ । त्यसैले पनि अंग्रेजसँगको जितको खुसीयालीमा कृष्णजन्माष्टमीको अर्को दिन भगवती जात्रा निकाल्ने परम्परा बसालिएको भन्ने मान्यता स्थापित भएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update