राम कार्की
नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता, जननायक विश्वेश्वरप्रसाद कोईरालाको ११० औं जन्मजयन्तीका अवसरमा आज पाल्पा सहित देशभर साहित्य महोत्सव, गोष्ठी सहितका साहित्य तथा वैचारिक मन्थनका कार्यक्रम गरेर उहाँबाट प्रतिपादित सिद्धान्त, नीतिको स्मरण एवं सम्मान गरिदैं छ । नगर, शहर, गाउँ–गाउँका कुना कन्धरादेखि विदेशमा रहेका नेपाली दाजभाईले आज वीपीलाई सम्झँदै छन् । आजको दिन सर्वप्रथम उहाँप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दै उहाँलाई जन्मदिने श्रद्धय आमाबुवालाई पनि स्मरण र सम्मान गर्नै पर्छ । जतिबेला यो लेखका लेखकमा राजनीतिक चेतना आउँदै थियो त्यतिबेला जननायक बीपी कोईरालालाई भौतिक रुपमा नजिकबाट भेट्ने वा देख्ने मौका त पाउन सकिएन, यद्यपी उहाँप्रति अपार श्रद्धा, सम्मान थियो मनमस्तिष्कमा । त्यतिबेला अग्रजहरुबाट उहाँको नेतृत्व, संघर्ष, त्यागका अनेकौ प्रसंग सुन्दा रोमाञ्चित हुन्थ्यौं हामीहरु ।
तत्कालिन समयमा लुकाईछिपाई पुर्याईएका बुलेटिन, पत्रिका, पुस्तक आदिका माध्यमबाट उहाँको विचार, दृष्टिकोण बारेमा अध्ययन गर्ने अवसर यदाकदा पाईन्थ्यो । अहिलेजस्तो सञ्चारको सर्वसुलभता नभएको त्यो क्षण बीपी कोईरालाको सिद्धान्त बुझ्न बुलेटिन, पुस्तक नै सहारा थिए । वास्तवमा उहाँले साहित्यका माध्यमबाट समाजका विकृति उजागर गर्दै रुपान्तरणका निम्ति दिएका सन्देश हुन वा राजनैतिक विद्रोहको नेतृत्व गर्दै नेपालमा प्रजातन्त्रको स्थापनाका लागि गरेका त्याग, संघर्ष, सिद्धान्तबाट प्रभावित भएर कठीन परिस्थितिमा पनि लाखौ मानिस जीवन उत्सर्ग गर्न तयार भएकाले निरंकुश एकतन्त्रिय शासन समाप्त गरी आधुनिक नेपालको विजारोपण गर्न संभव भएको हो । त्यही संघर्षको जग,बलमा निरन्तर संघर्ष, आन्दोलनका माध्यमबाट सात दशकपछि मुलुकले राजनैतिक कोर्ष लिएको छ र देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । संघर्षका लामो श्रृंखलामा जननायक बीपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता तथा मेलमिलापको नीति नेपालको लोकतान्त्रिक आन्दोलनका लागि टर्निड. प्वाईन्ट बन्न पुगेको छ । बीपी कोइरालाले त्यति बेला मेलमिलाप नीतिको आवश्यकता किन महसुस गर्नुभएको होला ? वर्तमान समयमा यो नीतिको सान्दर्भिकता के होला ? लगायतका विषयमा केन्द्रीत रहेर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
राष्ट्रिय एकता र मेलमिलाप नीति किन ?
विगत २००७ सालमा नेपाली काँग्रेसको नेतृत्वमा भएको क्रान्तिले निरंकुस राणाशासनको अन्त्य र प्रजातन्त्र स्थापना गर्न सफल भए पनि त्यसपछिका दिन लोकतन्त्रका निम्ति प्रतिकुल रहे । दरवारिया राजनैतिक दाउपेचले पैदा भएको अस्थिर राजनीतिका बाबजुद पटक–पटकका आन्दोलनको दवावले सम्पन्न २०१५ को संसदीय निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त नेपाली काँग्रेसका सरकारलाई तत्कालिन राजा महेन्द्रले अपदस्त गर्दै प्रजातान्त्रिक पद्धतिको गला घोट्ने दुस्साहस भयो । जननिर्वाचित प्रधानमन्त्री बीपी कोईराला समेतका नेताहरु बन्दी बनाईए । अन्य नेता कार्यकर्ता माथि धरपकड, दमन चरम भयो, पार्टीको ठूूलो पंक्ति निर्वासनमा रहन विवश रह्यो ।
बीपी कोइराला करीब ८ वर्ष कारावासपछि पनि मुलुकभित्र बस्न प्रतिकूूल रहेको कारण भारत निर्वासनमा रहेर लोकतन्त्रको पुर्नस्थापनाका लागि सशस्त्र संघर्षको आह्वान गर्दै नेपाली जनतालाई आन्दोलित गर्ने प्रयास गरिरहनु भयो । त्यसैबीच २०३१ साल पौषमा भारत, पटनामा आयोजित पत्रकार सम्मेलनमा बीपी कोईरालाले नेपालमा राष्ट्रिय एकताको अभाव रहेकाले देशको राष्ट्रिय अस्तित्व संकटमा रहेको, विदेशी तत्व कुचक्र चलाउन र अन्तर्राष्ट्रिय षडयन्त्रका अखडा बनाउन सफल हुन थालेको दर्शाउदै संकटको घडीमा मतभिन्नता विर्सेर एकताको शुत्रमा बाँधिनु पर्ने भनी अपिल गर्दै राष्ट्रिय एकता तथा मेलमिलापको नीति सहित ज्यानको जोखिम मोलेर स्वदेश फर्कनुभएको विदितै छ । बीपी कोईरालाले यो निर्णय र नीति लहडमा आएर लिईएको वा आत्मसमर्पण गरेका होइनन्, वास्तवमै राष्ट्र र राष्ट्रियता संकटमा पुगेकाले हो भन्ने कुरा बीपी कोईरालाले निर्वासनमा कार्यकर्ता माझ व्यापक चर्चा, परिचर्चा चलाएर निर्णय लिएबाट पनि पुष्टी हुन आउछ । त्यतिबेला राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय क्षेत्रमा घटेका घटनाक्रम, परिस्थितिले धेरै देशहरुमा संकटका कालो बादल मडारिएको अनुभूति राजनीतिक विश्लेषकहरुले गरेकै हुन् । भारतमा इन्दिरा सरकारले संकटकाल घोषणा, सिक्किमको भारतमा विलय, बंगलादेशमा राष्ट्रपति मुजिबर रहमानको हत्या, विभिन्न देशमा सैनिक हस्तक्षेप लगायतका घटनाक्रमहरुबाट एशियाली देशमा पनि अस्थिरता बढ्दै गएको थियो । यसै पृष्ठभूमिमा नेपालको आन्तरिक राजनीतिमा सीमित वर्गले राजनीतिमा जोडिएको ठूलो पंक्तिलाई निर्वासनमा जान बाध्य पारेर तत्कालिन राजा र जनता बीच दरार पैदा गर्न तल्लीन रहेको, राजनैतिक नेता, कार्यकर्ताको हत्या समेतका जनविरोधी क्रियाकलाप बढाउँदै लगेको र राजालाई जनविरोधी कदम चाल्न उक्साएर मुठभेडको राजनीतिमा जवरजस्त देशलाई होम्दै राष्ट्रिय शक्ति, राष्ट्रवादीहरु बीच बेमेल, अन्ततः द्धन्दमा बढाउन अदृष्य शक्ति लागेको महसुस गरेर बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति अवलम्वन गर्ने निष्कर्षमा पुग्नभएको देखिन्छ ।
मेलमिलाप नीति संघीय लोकतान्त्रिक आन्दोलनको कोसेढुंगा :
राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बीपी कोईराला लगायतका नेता, कार्यकर्ता स्वदेश प्रवेश गरेसँगै राजनीतिले नयाँ कोर्स लिएकोमा दुईमत हुँदैन होला । पटक–पटक सशस्त्र संघर्ष गरेको नेपाली काँग्रेस यो नीति अवलम्वन गरेकाले नै तत्पश्चातका आन्दोलनको स्वरुपमा शान्तिपूर्ण र अहिंसात्मक आन्दोलनको बाटो अपनाएको हो । संघर्ष, आन्दोलनका विविध स्वरुप अवलम्वन गरे पनि अन्तत्वोगत्व शान्तिपूर्ण आन्दोलनको बलमा नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेपाली जनता सफल भएका छन् । तसर्थ राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई लोकतान्त्रिक आन्दोलनको कोशेढुंगा मान्न सकिन्छ । यो नीतिको अवलम्वन पश्चात पनि तत्कालिन शासकको दमन, धरपडकका बावजुद नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरु गाउँ–गाउँका कुनाकाप्चासम्म पुगेर जनतासँग जोडिने, संगठीत हुने र आन्दोलित गराउने अभियानमा अनवरत क्रियाशील रहे, जसले गर्दा लोकतन्त्रका पक्षमा जागरण फैलाउन सफल भए । त्यसैको आलोकमा उठेको विद्यार्थी आन्दोलनको दवाबमा तत्कालिन राजा जनमत संग्रह घोषणा गर्न बाध्य भए र जनमत संग्रह प्रजातन्त्र पुर्नस्थापना आन्दोलनको प्रस्थानविन्दु हुनपुग्यो । अन्ततः नेपालको राजनीतिमा शान्तिपूर्ण आन्दोलन नै लोकतान्त्रिक संघर्षको मुल नीति बन्न पुग्यो । दक्षिणपन्थी र वामपन्थी शक्ति समेत शान्तिपूर्ण आन्दोलनको मार्गमा हिड्न सहमत भए र लोकतान्त्रिक आन्दोलन तार्किक निष्कर्षमा पुगेको हो । नेपाली काँग्रेसको नेतृत्वमा शान्तिपूर्ण रुपमा भएको २०४६ सालको जनआन्दोलन हुँदै २०६२/०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलनबाट नेपालको सार्वभौम र राजकिय शक्ति नेपाली जनतामा निहित गराउन तथा समाजवाद उन्मुख संविधान तर्जुमा गर्न सफलता मिलेको छ । यो सात दशक लामो लोकतान्त्रिक संघर्षकै उच्चतम सफलता हो । यथार्थमा राष्ट्रिय एकता तथा मेलमिलाप नीति लोकतान्त्रिक संघर्षका निम्ति सही मार्गदर्शक सिद्ध भएको छ ।
मेलमिलाप नीतिको सान्दर्भिकता :
नेपालको भू– राजनैतिक अवस्था र रणनैतिक महत्व, पछिल्ला दिनमा क्षेत्रीय, अन्तर्राष्ट्रिय शक्तिहरुको नेपालप्रति बढ्दो चासो, दृष्टिकोण र व्यवहार, छिमेकी मित्रराष्ट्रहरुसँगका समस्या वर्तमान समयमा अझ पेचिला एवं संवेदनशील बन्दै गएको अवस्था छ । त्यसैगरी आन्तरिक रुपमा पहिचानका सवाल, विखण्डनकारी, पृथकतावादी उग्र चिन्तनले टाउको उठाउन खोज्ने प्रवृति, घोर दक्षिणपन्थी तथा अति उग्र वामपन्थी सोच, मूलधारका राजनैतिक शक्तिहरु र तिनका नेतृत्व प्रति जनतामा रहेको निरासा, अविश्वास, अर्थ व्यवस्थामा देखा परिरहेको असन्तुलनले पैदा गरेको नागरिकहरुको विग्रदो आर्थिक अवस्था आदि परिस्थितिको चर्चा, परिचर्चा गर्दा देश संकटको दिशातर्फ उन्मुख देखिन्छ । आपसी वेमेल पक्कै पनि अरुका लागि खेल्ने अवसर बन्न सक्दछ । तसर्थ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा देखा परेका परिदृष्य आम नागरिक, राष्ट्रवादी शक्तिहरुका लागि चिन्ताको विषय हुनुपर्दछ । राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय स्वार्थको रक्षार्थ तथा जनताको हितका निम्ति राष्ट्रवादी शक्ति बीच राष्ट्रिय एकता बलियो हुन अपरिहार्य छ । यही एकताको बल र जगमा नै जुनसुकै शक्तिले उत्पन्न गर्ने समस्या र अवरोधको सामना गर्न नेपाल र नेपाली जनता सक्षम हुने छन् । राष्ट्रिय एकता र मेलामिलाप नीतिको सान्दर्भिकता वर्तमान समयमा पनि अझ बढ्दै गएको र यसलाई व्यवहारमा सबै राष्ट्रवादी शक्तिहरुले अवलम्वन गर्न आवश्यक रहेको छ । जननायक बीपी कोईरालाको जन्मजयन्तीका अवसरमा मुलुकको अखण्डताको रक्षा र जनताको लोकतान्त्रिक अधिकार संस्थागत गर्न राष्ट्रवादी शक्ति एकजुट हुने प्रण गरौं, यसैमा नै नेपाल र नेपाली जनताको भलो हुनेछ ।
(लेखक नेपाली काँग्रेस महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका आमन्त्रित सदस्य समेत हुन् ।)