Shittalpati
तिजलाई सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाऔं : सभापति श्रेष्ठ

बुटवल, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस पाल्पा–रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका हुन् ।

धार्मिक सहिष्णुता, धार्मिक एकता बलवान भएको र धार्मिक द्वन्द्व क्रियाकलापहरुको मूल्य मंहगो परेको भन्दै उनले धार्मिक एकतासहित सद्भाव र संस्कृतिको जगेर्ना कायम राद्यने गरी  हरितालिका तिज  पर्व मनाउन सबैलाई आग्रह गरे । सभापति श्रेष्ठले परिवर्तनशिल परिस्थिति र समयलाई व्यवस्थित बनाउँदै आर्थिक मितव्ययिता सहितको सामाजिक सद्भावपुर्ण राजनैतिक अभ्यास हुनुपर्ने समेत बताए ।  उनले भने ‘आर्थिक मितव्ययीता बिनाको समाज सेवा र राजनैतिक अभ्यास अल्पकालिन र तनावपूर्ण हुने भएकाले श्रम तथा रोजगारलाई उच्च प्राथमिकता राख्नुपर्छ ।’ आफ्नो वर्तमान राजनैतिक ध्येय, लक्ष्य र उद्देश्य संगठन मात्रै भएको सभापति श्रेष्ठले बताए । उनले विपिको समाजवाद, किसुनजीको कुटनीति र गिरिजाबाबुको गतिशिलतालाई मनन् गरि अघि बढ्न सकेमा काँग्रेसको गर्विलो इतिहास अझ सशक्त भइ समाजवादको साझा छाहारी बन्ने कुरामा दुई मत नरहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका जिल्ला सदस्य माधव थापा, विष्णुप्रसाद पाण्डे, सल्लाहकार राम श्रेष्ठ, नेपाली काँग्रेस तिनाउ गाउँपालिका सभापति प्रेम प्रसाद पाण्डे, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, प्रदेश प्रतिनिधि सिद्दार्थ श्रेष्ठ, नेविसंघ रुपन्देहीका सभापति सम्शेर खड्का, विद्यार्थी नेताहरु सुमन गुरुङ, श्रीधर बस्याल, विपिन्द्र पाण्डे लगायतले आ–आफ्नो धारणा राखेका थिए । सम्पर्क समितिका अध्यक्ष सुरेश पौडेलको अध्यक्षता, प्रदेश प्रतिनिधि किशोर पंगेनीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update