वर्ष दिनको तिजमा दादा लिन आएक
पापिनी सासुले दिनन् बरिलै...
पाल्पा, तानसेन भगवती टोलकी ७२ वर्षीया सावित्रा बस्याललाई यि गीत अहिले पनि सम्झना छ । उनी भन्छिन् ‘हाम्रा पालामा चेलीबेटीले भोगेका दुःख, दर्दका गीतहरु गाइन्थ्यो, चेलीले वर्षदिन भरी भोगेका पीडालाई यसरी गीतको माध्यमबाट सुनाउने गर्दथे, तिजका गीतमा कति मीठा शब्द राखिएको हुन्थ्यो, तर अहिले सुन्न पनि नसक्ने खालका गीत छन् ।’
रैनादेवी छहराकी ५८ वर्षीया सुन्तली नेपालीलाई पनि तिजका गीत बज्यो कि रमाइलो लाग्ने गर्छ । तर हिजो आजका गीत सुन्दा भने उनलाई रिस उठेर आउन्छ । विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू अमजु, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको नेपालीको अनुभव छ । ‘आजभोलि त हामीले मनाउने तिज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिकीको चाडजस्तो लाग्छ’, उनले भनिन् । ‘तिजका नाममा छाडा गीतहरू निस्किएका छन् । कर्मघरमा सासुले दुखदिएका पीडा, माइत जान नपाएका गुनासा, घर गरिखान दुःख भएको बिलौना समेटिने तिज गीतमा अचेल यो स्वाद भेटिँदैन । सुनिनसक्नु छ अचेलका तिज गीत’ नोपाली भन्छिन् ।
पछिल्लो समय आधुुनियकतासँगै भाउजूनन्दका खप्की, सासू–बुहारीका कलह, आमा–छोरीका बिलौना र माइती घरको सम्झना वरिपरि रहेर तिजमा गाइने पुराना लयका गीत आजभोलि गाउँ–घरमा सुनिँदैनन् । आँगनको डिलमा परालको गुन्द्री ओछ्याइ गाउँभरिका लागि लालटिन र दियालोको उज्यालोमा रातभर तिजका गीत मादलको तालमा गाउँदै÷नाच्दै गरिने रमाइलो एकाएक हराएको छ । आजकालको तिजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक र सस्तो लोकप्रियता हाँसिल हुने किसिमका गीत बजारमा आएका छन् । पछिल्ला वर्षका तिजका गीतमा मौलिकता हराउन थालेको छ । नेपाली समाजमा आधुनिकताको प्रभावले यस्ता गीतमा मौलिकताको अभाव देखिएको छ । घरपरिवारसँगै बसी सुन्न र हेर्न नसकिने खालका तिजका गीतले अहिले प्रश्रय पाइरहेकै छन् । समाजले पचाउन नसकेका छाडा प्रकृतिका गीतहरु बजारमा एकपछि अर्को सार्वजनिक भइरहेकै छन् ।
दर खाने चलन पनि बदलियो
आइतबार दर खाएर तिजको पहिलो दिन मनाइएको छ । समयमा बिवाहित नारीहरु माईती घर जाने आमाले पकाएको दर खाने र माईतीको आगनमा तिजका गीतहरु गाएर नाचगान गरेर यो पर्वलाई हर्ष उत्साहका साथ मनाउने गर्दछन् । सबै नेपालीहरुले धुमधामका साथ मनाउने पर्वमा खाने दरका परिकारमा भने बिस्तारै परिर्वतन आएको छ । केही समय पहिलेसम्म तिजको बेलामा खाने दरका परिकार र पछिल्ला वर्षहरुमा खाने तिजको दरमा फरकपन देखिएको छ । तिजको दर भन्न बितिकै घिउँमा पकाएको खाजा, खिर, बटुका भरी दुध, घिउ, दही, तामाको अचार, आलु, बोडी सिमीको तरकारी सम्झना आउथ्यो । माइतिको आगनमा जम्मा भएर दर खाने चलन थियो तर अहिले त दर भन्न बित्तिकै मासु भातमा सिमित हुन थालेको छ ।
धेरै ठाउँमा दर खाने कार्यक्रमहरु आयोजना हुन्छन । प्राय ठाउँमा दिदि बैनिहरु जम्मा हुने ठूूला ठूूला होटलहरुमा दर खाने कार्यक्रमको आयोजना गर्ने, मासु भात खाने अनि स्पिकर बजाएर नाच्ने चलनले कतै तिज पर्वको महत्व नै विस्तारै हराउँदै जाने त हैन भन्ने चिन्ता बढ्न थालेको छ । अझ दरको नाउमा मैना दिन अघि देखी ठूूलो धनरासी खर्च गरेर होटलहरुमा कार्यक्रम गर्ने महङ्गा महङ्गा गहना कपडाहरु लगाएर प्रदर्शन गर्ने गरेर यो पर्वलाई बिस्तारै भड्किलो गरी मनाउने चलन बढेर गएको छ ।
हराउँदै मौलिकता
विगतको विरासतलाई आजको तिजले धान्न सकेको छैन । हुनेले ‘मिठो मसिनो, नहुनेले पिठो मसिनो’ खाने पर्व थियो तिज । सात डाँडापारी विवाह गरी पठाएका चेलीबेटीलाई बाबा आमा, दाजुभाइ लिन गएर घरमा जम्मा गरी मिठोमसिनो खाने खुवाउने, असल भाइचाराको गाँठो कसिलो बनाउने, चेलीलाई माइती लिन जानुपर्ने, घर पक्षले अरू बेला नभए पनि यो बेला माइत पठाउनै पर्ने पर्व थियो तिज । सायद, यसैकारण माइतीको महत्वबोध बढी हुन्थ्यो ऊबेला नेपाली चेलीहरूलाई तर, आज यो अवस्था रहेन । हुने खानेहरूलाई त यसले राम्रै गर्ला तर, हुँदा खाने नेपाली समाजका अन्य महिलाहरूलाई भने यो अनावश्यक तडकभडक र देखासिकीले नकारात्मक असर पार्ने गरेको छ ।
गाउँबेंसीमा चेलीबेटीका दुखेसो बोकेका गीत, हतारहतार काम सकेर चेलीबेटी लिन हिँडेका माइती, घर–घरमा पाक्ने अनदीको लट्टे, खीर, तामा–टुसाको तरकारी र काँक्राको अचार अनि रातभरि नाँचगान गर्दै खाइने दर त्यसपछि भोलिपल्ट निराहार व्रत बसी गरिने शिवजीको पूजा यही हो हाम्रो तिजको मौलिकता । तर अहिले यो मौलिक पर्व केही सम्भ्रान्त र नवधनाढ्य वर्गका महिलाले आर्थिक हैसियत प्रदर्शन गर्न र सस्तो मनोरञ्जनका लागि गरिने भड्किलोपनका कारण अलोकप्रिय तथा आलोच्य बनिरहेको छ ।