Shittalpati
बढ्दो आपराधिक घटना रोक

नेपालमा आपराधिक घटनाहरु बढ्दै गएका छन् । सरकारले आपराधिक घटना रोकथाम गर्ने प्रतिबद्धता जनाइरहँदा पछिल्ला वर्षहरूमा यस्ता घटना झन्झन् जटिल बन्दै गएका हुन् । जनचेतना अभाव, अशिक्षा, कुसंस्कारजन्य बेथिति, गरिबी, बेरोजगारी, आर्थिक लेनदेन, बदलाको भाव, रिसइबी, झै–झगडा लगायत कारणले हत्याहिंसा जस्ता जघन्य अपराध हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ । अधिकांश आपराधिक घटना पारिवारिक लेनदेन तथा रिसइबीका कारण हुने गरेका छन् । केही दिन अघि नेपालको संघीय राजधानी काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको वीभत्स ढङ्गले हत्या भयो । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरे पनि घटनाको यकिन कारण खुलेको छैन । यो एक प्रतिनिधि घटना मात्रै हो । संघीय राजधानी जस्तो ठाउँमा दिन दिनदहाडै हत्या हुनुले राजधानीको सुरक्षा व्यवस्था सोंचे जति मजबुत नभएको प्रष्ट हुुन्छ । राजधानी यस्तो सार्वजनिक ठाउँ हो, जहाँ मानिस आउने–जाने क्रम भइरहन्छ, सुुरक्षा समेत बाक्लो रहन्छ  तर पनि यस्तो ठाउँमा कुनै व्यक्ति सजिलै मान्छेको ज्यानै लिन सफल हुन्छ भने यस्तो अवस्थालाई सुरक्षाका दृष्टिले उचित मान्नै सकिन्न । हुन त जहिले पनि अपराध गर्नेहरू कानुन–नियम र सुरक्षा संयन्त्र भन्दा एक पाइला अगाडि हुने गर्छन् । 

केही वर्षअघि भारतमा पेसेबर अपराधीहरूले यस्ता घटना गराएको सुनिन्थे । अहिले यस्ता घटना नेपालमै घटिरहेका पाइन्छन् । नेपालमा पछिल्लो समय विभत्स अपराधका घट्ना बढ्दै जानुमा यसका पछाडी विभिन्न कारण जिम्मेवार हुन सक्छन् । आर्थिक संकटले उत्पन्न परिस्थिति, आर्थिक कारोबारमा विवाद, व्यक्तिगत रिसइबी, प्रतिशोध, घर–जग्गा लगायत सम्पत्तिमा विवाद, मादक पदार्थ सेवन, जातीय भेदभाव, सामाजिक सञ्जालको दुरुपयोग, गोपनीयता भङ्ग हुनु,यौन उन्माद, युवामा नैराश्यता, बेरोजगारी, फुर्सदिलो समयजस्ता थुप्रै कारणले हत्याका घटनामा वृद्धि भइरहेका छन् । जे जस्ता कारण जिम्मेवार भए पनि अपराध कर्मलाई कुनै पनि हिसाबले स्वीकार गर्न सकिँदैन । जघन्य अपराधका दोषीलाई त जुनसुकै सजाय पनि मुनासिव हुन्छ । घटनामा सामान्य मानिस हत्याको शिकार हुनु चिन्ताको विषय हो । यसर्थ यस्ता घटनाहरु रोक्ने विषयमा सरकार गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update