Shittalpati
पाल्पामा पर्यटक भित्र्याउन एक जुट बनौं :  होटल व्यवसायी

रामचन्द्र रायमाझी
पाल्पा । जिल्लाका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले पर्यटकहरु भित्र्याउन सबै एक जुट हुनुपर्ने बताएका छन् । उनीहरुले देशको अर्थतन्त्रको मूख्य मेरुदण्ड पर्यटन उद्योग भएकाले जिल्लाको आर्थिक समृद्धिका लागि पर्यटकहरु भित्र्याउन सबै व्यवसायीहरु एक जुट हुनुपर्ने बताएका हुन् ।
सोमबार तानसेनमा भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको वृहत्त भेलामा सहभागी व्यवसायीहरुले जिल्लामा पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना भएकाले पर्यटकहरुको आगमनमा वृद्धि गर्दै पर्यटकहरुलाई जिल्लामा टिकाई राख्ने वातावरण सिर्जना गर्न सबै व्यवसायीहरु एक जुट हुनु आवश्यक रहेको औल्याएका छन् । उनीहरुले जिल्लाको होटल व्यवसायीहरु बीच सहकार्य र समन्वय हुन नसक्दा जिल्लामा भित्रिने पर्यटकहरुमा समेत गलत प्रचार हँुदै आएकाले जिल्लाको पर्यटन क्षेत्रले फड्को मार्न नसकेको बताए ।

पाल्पा आफैमा ऐतिहासिक र पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात रहे पनि पर्यटकका लागि आवश्यक पूर्वधार निर्माण हुन नसक्दा जिल्ला भित्रिने पर्यटकहरुलाई समेत टिकाई राख्न समस्या भएकाले जिल्लामा सञ्चालित साना ठूला लगानीका होटल तथा रेष्टुरेण्ट बन्द हुने अवस्था सिर्जना हुन लागेको भन्दै सबै व्यसयसायीहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एक जुट हुनुपर्ने बेला आएकोमा व्यवसायीहरुले जोड दिएका छन् । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष र प्रदेश पाँच सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमणका अवसरमा जिल्लाका होटल व्यवसायीहरुले पर्यटक भित्र्याउन सबैले आ–आफ्ना ठाउँबाट पर्यटनमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा गौरीशंकर होटलका सञ्चालक राजु महर्जनले पर्यटकीय क्षेत्रको विकासका लागि व्यवसायीहरुमा सकारात्मक सोंच हुनुपर्ने बताए । उनले जिल्लामा थुप्रै पर्यटकीय सम्भावनाका क्षेत्रहरु रहेकाले तिनीहरुको सकारात्मक प्रचार–प्रसार गर्न व्यवसायीहरुलाई आग्रह गरे । प्रमुख अतिथि समेत रहेका अध्यक्ष महर्जनले मूल्यमा एकरुपता र व्यवसायीहरु बीच एकता हुन नसक्नु दुःखद् भएको भन्दै मूल्य एकरुपता र व्यवसायी बीच एकता हुनुपर्नेमा जोड दिए । उनले भने ‘आर्थिक समृद्धिको मुख्य आधार पर्यटन उद्योग हो, पर्यटनको विकासका लागि सबै एक जुट हौं ।’ व्यवसायीहरुमा देखिएको समस्याका लागि उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघसँग सहकार्य गर्दै अगाडि बढ्ने अध्यक्ष महर्जनले बताए ।

विशिष्ट अतिथि तानसेन नगरपालिका ६ का वडा अध्यक्ष तथा नगरपालिकाका टुरिजम एक्सन कमिटीका संयोजक सागर महर्जनले पर्यटकीय क्षेत्रको विकासका लागि नगर सरकारले थुप्रै योजनाहरु अगाडि सारे पनि जनशक्ति नहुँदा पर्यटकीय क्षेत्रको प्राप्त विकास गर्न नसकिएको बताए । उनले भने ‘हामीसँग धेरै योजनाहरु छन्, पैसा पनि छ तर जनशक्ति नहुँँदा पर्यटन क्षेत्रको द्रुत विकास हुन सकेन ।’ संयोजक महर्जनले पर्यटकहरु भिर्याउने महत्वपूर्ण माध्यम भने कै होटल व्यवसायी भएकाले सबै व्यवसायीहरु इमान्दार र लगनशील भएर लाग्ने हो भने सरकारको मुख ताक्नु नपर्ने धारणा व्यक्त गरे । संघका अध्यक्ष तथा पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठले पर्यटन विकासका लागि सबैको अपनत्व हुने गरी संघ अगाडि बढ्ने बताए । उनले संघको आगामी अधिवेशन पछि व्यवसायीहरुका लागि पर्यटक लक्षित तालिमहरु सञ्चालन गर्ने जानकारी दिए । संघका वरिष्ठ उपाध्यक्ष जीवलाल सुवेदीले जिल्लामा पूर्वधारको विकास नभए सम्म होटल व्यवसायी फष्टाउन नसक्ने भन्दै पूर्वधार विकासका लागि तीनै तहका सरकारहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

पाल्पा उद्योग वाणिज्य संघका सदस्य तथा अन्नपूर्ण गार्डेनका सञ्चालक लक्ष्मण बस्यालले व्यवसाय सञ्चालनमा धेरै सम्भावनाहरु रहेपनि ती सम्भावनाहरुलाई पछ्याउन नसक्दा व्यवसाय फष्टाउन नसकेको धारणा व्यक्त गरे । उनले भने ‘समस्या हाम्रो हो, दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सक्नुपर्छ ।’ कार्यक्रममा माथागढी होटल व्यवसायी समितका अध्यक्ष मनबहादुर दर्लामी, कलाकार नविन पौड्याल लगायतले आ–आफ्ना धारणा राखेका थिए । जयराम सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update