Shittalpati
माथागढीमा बाँझो जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने

पाल्पा । तपाईंले आफ्नो स्वामित्वको कृषियोग्य जग्गा बाँझो राख्नु भएको छ ? त्यसो हो भने अब त्यसमा केही न केही उब्जनी गर्ने गरी तयारी थाल्नुस् । स्थानीय सरकारले अब बाँझो रहेको कृषियोग्य जमिन उपयोग गर्ने कृषकलाई अनुदान दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न हुन सक्ने संभावित खाद्य संकट रोक्न जिल्लाको माथागढी गाउँपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने भएको हो ।
गाउँपालिकाको वैशाख ७ गते बसेको कार्यपालिकाको बैठकले कोरोना संक्रमण थप फैलिन सक्ने र यसले खाद्य संकट समेत निम्तिन सक्ने भन्दै २०७४÷०७५ भन्दा अगाडिदेखि बाँझो रहेको जग्गामा खेतीपाती गर्ने कृषकलाई अनुदान दिने निर्णय गरेको छ । गाउँपालिकाले बाँझो जग्गामा खाद्यान्न, तरकारी तथा फलफुल खेती गर्नेलाई प्रतिरोपनी तीन हजार दिने निर्णय गरेको हो । यदि कुनै पनि कृषकले आफ्नो स्वामित्वमा रहेको बाँझो जमिन उपयोग नगरे तीन वर्षका लागि सम्झौता गरी भाडामा समेत दिन सक्ने छन् । गाउँपालिकामा खेती योग्य उर्वर जमिन रहे पनि यहाँका अधिकांस कृषकहरुले जमिन बाँझो राख्ने गरेका छन् । उक्त जमिन बाँझो राख्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप गाउँपालिकाले अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनलले भने‘लामो समयको लकडाउनका कारण खाद्य संकट हुनसक्ने विश्व स्वास्थ्य संगठनले गरेको आँकलनलाई मध्यनजर गरी उत्पादन बढाउन कृषकलाई गाउँपालिकाले अनुदान दिने निर्णय गरेको हो ।’ सम्भावित खाद्य संकटलाई मध्यनजर गर्दै किसानलाई खेती गर्नका लागि प्रोत्साहन गर्न लिएको अनुदानले महत्वपूर्ण टेवा पुग्नेमा अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।

गाउँपालिकाले जमिन बाँझो राख्नेहरुको लगत संकलन कार्य गरिरहेको र कृषकहरुलाई निवेदन दिन समेत अनुरोध गरेको छ । निवेदन दिने कृषकहरुले जग्गा धनीको नागरिकताको प्रतिलिपी, जग्गाधनी पुर्जा, स्वघोषणा पत्र,करारमा दिने भएमा करार सम्झौता पत्र गाउँपालिका वा वडाका कार्यालयलाई उपलब्ध गराउनुपर्ने छ । संभावित खाद्य संकट रोक्नका लागि जिल्लाको रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिकाहरुले पनि बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने निर्णय गरेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update