पाल्पा, पाल्पा ग्याँस डिलर्स संघमा नयाँ नेतृत्व आएको छ । संघको शनिबार तानसेनमा भएको पाँचौ अधिशेन तथा साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । जसको अध्यक्षमा पर्सुराम पौड्याल चयन भएका छन् । उनको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । संघको उपाध्यक्षमा मञ्जु रेग्मी, सचिवमा अजयबहादुर श्रेष्ठ, कोषाध्यक्षमा उमेशराज शाक्य र सह–सचिवमा विष्णु जि.सी. चयन भएका छन् । संघको कार्यसमिति सस्यमा रामबहादुर श्रेष्ठ, जालबहादुर खाती, राजेश प्रसाद श्रेष्ठ, भुपेन्द्र के.सी., भरत ढुङ्गाना र राजेन्द्र अग्रहरी रहेको छन् ।
यस्तै बरिष्ठ सल्लाहकारमा कमल ढकाल, बसन्त श्रेष्ठ र निवर्तमान अध्यक्ष राजेन्द्रबहादुर बज्राचार्य चयन भएको संघले जनाएको छ । अधिवेशनलाई तानसेन नगरपालिकाकी उप–प्रमुख प्रतिक्षा गाहा सिंजालीले सम्बोधन गरेकी थिइन् । सभालाई सम्बोधन गर्दै उनले ग्याँस विक्रेता व्यवसायीहरुलाई उपभोक्ता मैत्री भएर काम गर्न अनुरोध गरिन् । उप–प्रमुख सिंजालीले राज्यबाट पाउनु पर्ने अधिकार दिलाउन स्थानीय सरकारकबाट मिल्ने र सक्ने काममा तानसेन नगरपालिकाबाट पूर्ण रुपमा सहयोग रहने बताईन । हाल लागु रहेको ग्याँस लोड अनलोडको टाइम कार्डको समय बढाउन प्रहरी, प्रशासन र संघसँंग मिलेर नगरपालिकाले सहजीकरण गर्ने उप प्रमुख सिंजालीले बताइन् । ग्याँस उद्योगले तानसेनमा बोटलिङ्ग गर्न चाहेमा आवश्यक पर्ने जग्गा व्यवस्थापनको लागि तानसेन नगरपालिकाले सहयोग गर्ने उप–प्रमुख सिंजालीले बताईन । ग्याँसबाट हुने क्षति न्युनिकरणका लागि अबका दिनमा घर नक्सा पास गर्दा ग्याँस सिलिण्डर राख्ने छुट्टै स्थान समावेश गर्नको लागि आगामी कार्यपालिका बैठकमा ऐजेण्डा पेश गर्ने उप–प्रमुख सिंजालीले बताईन । ग्याँस अति जोखिम र प्रज्वलनशिल पदार्थ भएकाले उपभोक्ता सचेतनाका लागि संघसँग मिलेर नगरपालिकाले काम गर्ने उप–प्रमुख सिंजालीले बताइन् । कार्यक्रममा ग्याँस विक्रेता महासंघका केन्द्रीय अध्यक्ष चन्द्र थापाले ग्याँस विक्रेता संघ तथा व्यबसायीलाई वाइपास गरी ग्याँस उद्योगीहरुले आफै ठूूला सिलिण्डर विक्रि गर्न थालेमा देशभरीका ग्याँस व्यवसायीहरु आन्दोलनमा उत्रिने चेतावनी दिए ।
हाल केही ग्याँस उद्योगहरुले ५० किलो देखी ४ सय किलो सम्मका सिलिण्डर आफै विक्रि गर्दै आएकाले संघका अध्यक्ष थापाले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । स्थानीय सरकारले ग्याँस विक्रेता संघसँग समन्वय गरी मापदण्ड बनाएर ग्याँस विक्रिलाई व्यस्थित र सुरक्षित बनाउनु पर्नेमा अध्यक्ष थापाले जोड दिए । ग्याँस व्यवसायीहरुले मुल्यको ५ प्रतिशत नाफाको व्यवस्था गर्न आयल निगमसँग निरन्तर प्रयास गरिरहेको अध्यक्ष थापाले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले पाल्पामा लागु भएको टाइम कार्ड ग्याँस विक्रेताहरुको हकमा केही हदसम्म आपसी छलफलबाट पुनः विचार गर्न सकिने बताए । ग्याँस उद्योगी, व्यसायीहरुले उपभोक्ता सुरक्षालाई पहिलो प्राथमिकता दिएर काम गर्न प्रजिअ बास्तोलाले जोड दिए । ग्याँस वित्रेता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष राम प्रसाद गैरेले ग्याँसको कारोबार दिनहुँ घट्दै गएकोले व्यवसाय सञ्चालन गर्न कठिनाई भईरहेको बताए । करदाता सेवा कार्यालयकी प्रमुख विमला महतले ग्याँस विक्रेताहरुलाई अन्य व्यवसायीलाई भन्दा आयकरमा छुट दिएको बताईन् । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले राज्यले निजी क्षेत्रले गरेको सहयोगलाई उपेक्षा गर्दै आएको बताए । निजी क्षेत्रको रुपमा रहेका उद्योग व्यवसायको राम्रो कारोबार नभएसम्म मुलुकमा आर्थिक रुपमा सम्पन्न हुन नसक्ने अध्यक्ष भट्टराईले बताए ।
कार्यक्रममा पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्यालले ग्याँस व्यवसायीहरुले निकै जोखिम मोलेर व्यवसाय गर्दै आएकाले राज्यले उनीहरुका मागहरु सम्बोधन गर्नुपर्नेमा जोड दिए । रुपन्देही ग्याँस विक्रेता संघका अध्यक्ष प्रदिप पन्तले घर, कार्यालय, उद्योग धन्दा, कलकारखाना, सवारी साधन, होटल तथा रेष्टुराहरुमा जुनसुकै किसिमको आगलागीबाट बच्नको लागि फायर फाइटरलाई अनिवार्य बनाउनु पर्ने बताए । सिद्धार्थ ग्याँस उद्योगका व्यवस्थापक शुसिल नेपालले अहिले उपभोक्ताको हितलाई ध्यानमा राखेर ग्याँस उद्योगहरुले अवस्था हेरिकन १ करोडसम्मको बिमा सुविधा दिएको बताए । उपभोक्ता मञ्च पाल्पाका सचिव जीवलाल सुवेदीले ग्याँसको प्रयोग विधी, सुरक्षित तरिका, जोखिम कम गर्ने विषयमा स्थानीय सरकारको सहकार्यमा सचेतना अभियान चलाउनु पर्नेमा जोड दिए । कार्यक्रममा अध्यक्ष राजेन्द्र बहादुर बज्राचार्य, सचिव अजय बहादुर श्रेष्ठको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । कार्यक्रममा पुराना ग्याँस विक्रेता, व्यसायी सिद्धि हाडवेयरका प्रोपाईटर अजय बहादुर श्रेष्ठ र उत्कृष्ट ग्याँस विक्रेता, पौडेल सप्लायर्सका प्रोपाईटर पर्सुराम पौड्याललाई सम्मान गरिएको थियो । संघका अध्यक्ष राजेन्द्रबहादुर बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रम उपाध्यक्ष पर्सुराम पौड्याललको स्वागत सचिव अजय बहादुर श्रेष्ठको सञ्चालनमा भएको थियो ।