Shittalpati
आर्थिक चलायमान बनाउन निजी क्षेत्रसँगको सहकार्य आवश्यक : मन्त्री खनाल  

पाल्पा, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले आर्थिक चलायमान बनाउन निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका छन् । पाल्पा उद्योग वाणिज्य संघको ६९ औं साधारण सभालाई शनिबार तानसेनमा सम्बोधन गर्दै मन्त्री खनालले अर्थतन्त्रमा देखा परेको असर न्यूनीकरण गरी अर्थतन्त्र चलायमान बनाउन निजी  क्षेत्रसँग सरकारको सहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि  प्रदेश सरकार अग्रभागमा रहेर भूमिका निर्वाह गर्न तयार रहेको बताए । तर यसका लागि निजी क्षेत्रले साथ दिनुपर्ने उनले बताए । सरकार अग्रभागमा रहने भए पनि एक्लै केही गर्न नसक्ने भन्दै निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने मन्त्री खनालको भनाइ थियो । सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीचको सहकार्यमा  अर्थतन्त्रमा देखिएको चुनौतीलाई सामना गर्दै लगानी वृद्धि गर्ने, उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने विषयमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको उनले स्पष्ट पारे । अर्थतन्त्रलाई अहिलेको स्थितिबाट माथि उकास्न र चलायमान बनाउन अहिले उत्पन्न भएका समस्याहरुको सामना गर्दै लगानी, उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित भएर प्रदेश सरकार अगाडि बढिरहेको पनि मन्त्री खनालले बताए । उनले भने‘प्रदेश सरकारले आर्थिक विकासका लागि नीति तथा कार्यक्रम नै बनाएर अगाडि बढेको छ ।’ उद्योगी व्यवसयीहरुमा बैंकको चर्को व्याजका कारण समस्यामा परेको विषय उठान भए पनि सरकारले ल्याएका कतिपय स्थानीय उत्पादनलाई नीतिगत रुपमा कार्यान्यन नहुँदा समस्या भएको मन्त्री खनाले बताए । उनले पाल्पाको पर्यटन क्षेत्रको विकासमा सबैले चासो देखाउनुपर्नेमा जोड दिए । मन्त्री खनालले भने‘ पाल्पा आफैमा पर्यटकीय सम्भावना भएको जिल्ला हो, त्यसैले पनि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्कषित गर्न आवश्यक छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद् खेम सारुले सरकारको सिमित स्रोत साधानको उचतम प्रयोग गरी उत्पादन र रोजगारी सिर्जना गरिनु अहिलेको आवश्यकता रहेको बताए । उनले पाल्पाका ठूला अस्पतालहरुमा स्वास्थ्य बिमा कार्यक्रम बन्द हुँदा विरामी मात्र नभई यहाँका होटल व्यवसायीहरु समेत समस्यामा परेकाले त्यसतर्फ प्रदेश सरकार गम्भीर बनेको बताए । पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु मर्हनले पाल्पाको विकासमा राजनीतिक दलहरुले छातीमा हात राखेर प्रण गर्ने बेला आएको बताए । उनले सरकारले उद्योगी, व्यवसायीहरुको समस्या बुझ्न नसकेको बताए । महर्जनले भने,‘मुलुकको आर्थिक विकासमा उद्योगी, व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहे पनि सरकारले त्यो विषय बुझ्न सकेन्, अहिले बैंकको चर्को व्याजदरका कारण व्यसायी समस्यामा छन् ।’ उनले जिल्लाबाट व्यवसायीहरु पलायन हुने स्थिति आएकाले उनीहरुलाई रोक्न संघले स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्नुको विकल्प नरहेको समेत बताए । 

संघका अध्यक्ष शैलेन्द्र भट्टराईले देशभित्रको राजनीतिले स्पष्ट खाका कोर्न नसकिरहेको अवस्थामा नीजि क्षेत्रले उद्योग, व्यवसाय क्षेत्रमा लगानी मैत्री वातावरण बनाउँदै आर्थिक, सामाजिक रुपान्तरणबाट देशको विकासमा सहयोगी भूमिका खेल्दै आएको बताए । उनले भने,‘हामीले मुलुकको विकासमा ठूलो भूमिका खेलेका छौं तर सरकारले नै हामीलाई विश्वास गर्न सकेको छैन्, हाम्रा समस्याप्रति सरकार उदासीन छ ।’ राज्यले नीजि क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको अध्यक्ष भट्टराईले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य विधान श्रेष्ठ, नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरे, नेकपा समाजवादीका सचिव जगन्नाथ नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर, राष्ट्रिय जनमोर्चाकी नरमती सिंजाली, राष्ट्रिय जनमुक्ति पार्टीका तानसेन नगर अध्यक्ष होमबहादुर थापा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य मोहन प्रसाद श्रेष्ठ, तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्की, नेपालगञ्ज उद्योग वाणिज्य संघका सदस्य टोपेन्द्र थापा, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, सामाजिक संघसस्थाको तर्फबाट शोभा शाक्य लगायतले संघको सफलताको शुभकामना व्यक्त गर्दै जिल्लाको आर्थिक विकाससँगै उद्योगी, व्यवसायीहरुको हितमा संघले नयाँ ढंगले सोच्नु पर्नेमा जोड दिएका थिए । संघका अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षता, उपाध्यक्ष भिमबहादुर श्रेष्ठको धन्यवाद ज्ञापन र महासचिव समिरमान सिंहको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update