Shittalpati
स्वास्थ्यकर्मी शर्माद्वारा पाल्पा उद्योग वाणिज्य संघमा एक लाख २५ हजारको अक्षयकोष स्थापना

पाल्पा,  स्वास्थ्यकर्मी रुक्मागत शर्माले पाल्पा उद्योग वाणिज्य संघमा १ लाख २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । उनले  हरेक वर्ष  सरकारी स्कूलमा कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने गरिब तथा जेहन्दार एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी अक्षकोष स्थापना गरिदिएका हुन् ।  

संघमा आवद्ध उद्योगी, व्यवसायीहरुका छोरा छोरीहरु मध्येबाट हरेक वर्ष एक जनालाई छात्रवृत्ति स्वरुप १० हजार दिने गरी अक्षयकोष स्थापना गरिदिएको स्वास्थ्यकर्मी शर्माले बताए । उनले उद्योग वाणिज्य संघको ६९ औं साधारण सभाको अवसरमा उक्त अक्षकोषको घोषणा गरेका हुन् । उनका अनुसार अक्षयकोषको व्याजबाट आउने दश हजार छात्रवृत्तिका रुपमा दिइने छ । शर्माले अक्षकोषको रकमको चेक संघका अध्यक्ष शैलेन्द्र भट्टराईलाई हस्तान्तरण गरेका छन् । चेक रकम ग्रहण गर्दै संघका अध्यक्ष भट्टराईले शर्माद्वारा स्थापित उक्त अक्षकोषको सहि सदुपयोग हुने बताए । 

शर्माले यस अघि पनि नेपाल औषधि व्यवसायी संघ पाल्पामा १ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । उनले  हरेक वर्ष एक जनालाई ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ प्रदान गर्ने गरी अक्षकोष स्थापना गरिदिएका हुन् ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update